कविता- समयका सञ्जय आँखा

अनुपमा कट्टेल (असम)

परापूर्वकालदेखि नै

दानवी कोलाहलले मिच्न खोजिरहेछ

मानवताका सरगमहरू

संसारलाई रमाइलो पार्ने सबै कसरतहरू

विफल पार्ने प्रयासमा हुँडलिरहेछन्

सोझा जनतालाई

स्वार्थी सत्ताको पक्षमा

वातावरण घुर्मैलो पारिरहेछन्

यो युग निरपेक्ष इतिहास हो

यो स्थान निरपेक्ष सत्यता हो

जहाँ जहाँ मानवताका धुनहरू बज्दछन्

त्यहीँ त्यहीँ दानवहरूको छटपटी बढ्छ

औडाहा मच्चिन्छ झन् झन्

सुकरातको के थियो दोष

किन जेलमा कोच्चिनुपर्‍यो ग्यालिलिओ

क्राइस्टको छातीमा कसले ठोक्यो काँटी

गान्धीले किन लिन सकेनन् राम नाम फेरि

मानवतालाई विखण्डित पार्ने तत्त्वहरू

सधैँ निर्मित भइरहेछन् विभाजनवादीका प्रयोगशालामा

मानिसका बीच निरन्तर कोरिँदा रहेछन्

विभाजनका रेखाहरू

छरिदिइरहेछन् हिंसाका बीजहरू

अनि स्वार्थको बाली उठाउन पछि पछि हिँडिरहेछन् मौकावादी मुखुन्डेहरू

यहाँ घामलाई घाम र जूनलाई जून भन्न पाइँदैन

घामलाई घाम भन्नेहरू कुटिन्छन्, हेपिन्छन्

सामाजिक बेइज्जती हुन सक्छन्

जसको लट्ठी उसकै भैँसीको रजगज चल्दा

जगजगी हुँदा

तर,

तर इतिहास संसारका सबै निष्ठुरभन्दा निष्ठुर हुन्छ

अनि समयले घुँडा टेक्न बाध्य गराउँछ निरङ्कुशतालाई

आत्महत्या गर्न बाध्य गराउँछ घातक हिटलरहरूलाई

फेरि बज्दछ मानवताको धुन

अनि इतिहासले छुट्याइदिन्छ

दूधको दूध पानीको पानी

को हो सत्य

को हो मुखुण्डोधारी

समयले टाढा बसेर सञ्जय आँखाले हेरिरहेछ

कसले के गर्दै छ ।