समाप्त पारिएका परिका कथाहरू
शङ्खध्वनिले गुन्जाएमान हुँदा
परिले बनाएकी थिई एउटा चित्र
हत्यारा दैत्यको शीर छेदन गरेर
रगतहरू पिउदै गरेकी कालीको
नरमुण्डको माला लगाएकी
हातमा खड्ग भिरेकी
आफैँले वध गरेकी राक्षसको शीरबाट
रगतका धाराहरू चुहाइरहेकी कालीसँग
दैत्यको मानवअधिकारका लागि
जब बहस गर्छन् त्रिदेवहरू
स्मशानघाटबाट जलिरहेका परिहरुको
मृत शरीरलाई काँधमा जुरूक्क बोकेर
भौतारिन्छन् तब कालीहरू
ईश्वरको अदालतमा
मत्ताहात्ती भएर
पुरुषार्थलाई प्रमाणित गर्न
मारिन्छन् जब परिहरू
कुबेरका खजानासँग लोभिएर
दैत्यलाई चोख्याउन
बहस गर्छन् जब ब्रह्माहरु नै
जब वृन्दाको सौन्दर्यसँग
लोभिन्छन् महादेव नै
जब निक्लन्छन् इन्द्र नै
अप्सराको खोजीमा
ईश्वर जन्माउने योनिहरु नै
लुटिन्छन् जब ईश्वरकै मन्दिरमा
कहिले मस्जिदमा
कहिले चर्चमा
कहिले गुम्बामा
बोल्दैनन् किन तिम्रा ईश्वरहरू
घण्टीहरू बज्दा मन्दिरबाट
नमाजहरू पढ्दा मस्जिदबाट?
प्रार्थना गर्दा चर्चबाट
दीपहरू बाल्दा गुम्बाबाट
गर्दै थिइन् प्रश्न काली
आज ईश्वरको अदालतमा
दैत्य छ यत्र तत्र सर्वत्र
बाजझैँ उडिरहेका दैत्यहरू
एकै झड्कामा बलिया नङ्ग्राहरू गाडेर
समाप्त पार्छन् परिका श्वासहरू
फुटेका काँचका चुराझैँ सस्ता
फगत एउटा योनिको मृत्यु
गीता, कुरान, बाइबल र त्रिपिटक
सक्छौ के  फिर्ता गरिदिन मलाइ
मेरा परिका श्वासहरु !

विदुर, नुवाकाेट

ईश्वर जन्माउने योनीहरु नै
लुटिन्छन् जब ईश्वरकै मन्दिरमा
कहिले मस्जिदमा
कहिले चर्चमा
कहिले गुम्बामा
बोल्दैनन् किन तिम्रा ईश्वरहरू
घण्टीहरू बज्दा मन्दिरबाट
नमाजहरू पढ्दा मस्जिदबाट?
प्रार्थना गर्दा चर्चबाट
दीपहरू बाल्दा गुम्बाबाट