
आमा, म ठूली हुन्न ल!
म त उही सानी नै रहन्छु
निश्पाप मन निश्चल जीवन
आहा! कति रमाइलो है
बिहानमा “वालौं पौमाछा” भनी
गालाभरि “तनखा” लगाइदिए मात्रै मान्ने
फर्की फर्की ऐना हेर्दै मुस्कुराउने
राम्री भन्दैमा गमक्कै हुने
उही सानी छोरी हुन्छु ल!
ठूली भए’सी पल्लाघरकी सावित्रीका झैं
मेरा पनि सपना मासिन्छन् रे,
हो आमा?
ती चञ्चलता, ती स्वतन्त्रतामाथि
एक्कासि डढेलो लाग्यो हगी, सावित्रीको जीवनमा
कता मेरो पनि त्यस्तैै………?
ठूली भए’सी, तिमी काहाँ म काहाँ?
इच्छाहरूमा ताला लाइन्छन्,
ती मुस्कान कता भाग्छन् कता
खेल्दै गरेको जूनमा ग्रहण लागेझैं जीवन त्यसै मुर्छाउँछ रे,
हो आमा?
म त तिम्रो काखको सिरानीमा निदाउन चाहन्छु
तिम्ले खुवाएको गाँसमा अघाउन चाहन्छु
तिमी हाँस्दा हाँस्न, रूँदा सँगै रून चाहन्छु
त्यसैले आमा, म ठूली हुन्न ल!
तिमीले “ताते ताते”गराउँदा दिलाएको त्यो आत्मविश्वास
अरू कस्बाट मिल्ला?
तिमीले “फूू फू” गर्दैमा निको हुने घाउ
पछि कसरी निको होला?
दुनियाँ पापी छ आमा
यिनका चालचलन र परम्परा निर्दयी छन्
आफ्नोबाहेक कसैको पर्वाह गर्दैनन्
न पछाडिबाट हौसला दिन्छन् न अगाडिबाट साथ नै
बरू कुल्चेर आफैँ अघि बढ्छन्
ठूली भएर पो के गर्नु?
सपना जरैबाट उखेलेर फ्याँकिदिहाल्छन्
बिनाउद्देश्य ठूली हुनु त आगोमा होमिनु बराबर हो
त्यसो त सानी नै रहनु बेस,
कमसे कम तिम्रो अँगालोमा सुरक्षित त हुन्छु म
सुरक्षित रहन्छन् मेरा चाहना पनि
तिम्रो ममता र मायाले मौलाउन पाउँछन् पनि
त्यसैले आमा, म ठूली हुन्न ल!
मान्डले, बर्मा
राम्री भन्दैमा गमक्कै हुने
उही सानी छोरी हुन्छु ल!
ठूली भए’सी पल्लाघरकी सावित्रीका झैं
मेरा पनि सपना मासिन्छन् रे,
हो आमा?ती चञ्चलता, ती स्वतन्त्रतामाथि
एक्कासि डढेलो लाग्यो हगी, सावित्रीको जीवनमा
कता मेरो पनि त्यस्तैै………?



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

