गज्जब रहेछ मान्छेको जात
काठमाडौंका सुनारलाई
वज्राचार्य, शाक्य बनाउँदोरहेछ
उनीहरूलाई
‘बन्याय् गुर्जु’, ‘बन्याय् गुर्मा’ भन्दोरहेछ
तर लमजुङको रुपा सुनारलाई
दलित बनाउँदोरहेछ
अनि प्रधानलाई हिरासतमा पुर्याउँदोरहेछ !

महाकवि देवकोटालाई
मुनामदन लेखाउँदोरहेछ
अनि महापण्डित राहुल सांकृत्यायनले
आफ्नी पत्नी डा. कमला परियार घरमा ल्याएबापत
घरशुद्धि गर्न बाध्य पार्दोरहेछ !
अनि महापण्डित त महामूर्खमा बदलिँदोरहेछ !

आफू हेपिँदा
चित्त दुखाउने मान्छेले
आफूभन्दा तल्लालाई आरामले हेप्दोरहेछ !
हेप्दा मजा मान्दोरहेछ
हेप्ने त अधिकारै ठान्दोरहेछ !
अचम्मै रै’छ
गज्जबै रै’छ
जातको कुरा !

अनि गोरा दलितको आन्दोलनको आँधिबेहरीले
काला दलित त उडाएर सीमापारि पुग्दोरहेछ !
अचम्मै रै’छ
गज्जबै रै’छ
जातको कुरा !
मान्छेको जात बनाउने त
रकेट बनाउनेभन्दा ठूलो विद्वान रहेछ !

मान्छेको जात त अचम्म छँदैछ
त्योभन्दा मान्छे जातै अचम्मको छ
मान्छेजात देखेर
कुकुरहरू अचम्म मान्दैछन्
कुकुरहरू मरिमरि हाँस्दैछन् !

 

बन्याय् गुर्जु, बन्याय् गुर्मा = ढोगेँ गुरूज्यू, ढोगेँ गुरूआमा