साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

यात्रा र झोला

कविता


हामीले थालेको त्यो यात्रा
अहिले लाग्छ, अरू कसैको थियो ।

हामीले बोकेका झोलाहरूमा
भविष्य अरूकै रहेछ
हामीले पसिना चुहाउँदै
तय गरेको गन्तव्य पनि अरूकै
थाकेर रुखमुनि बसेर कल्पिएका
मीठा क्षणहरू पनि अरूकै,
सारा दुखको विगत आफ्नो
बोकेको भार आफ्नो
थेगेको पिडा आफ्नो
हामीले लडेको भविष्य अरूकै रहेछ ।

हामी झुलेको पिङ्ग अरूकै
झुल्दाको मजा अरूकै,
पिङमा झुल्दाको डाम
र निरीह झुलिरहेको मन मात्रै आफ्नो रहेछ।

bahulako diary small and inside post

चढेको ठाडो उकालो आफ्नो
उकालो पछि भेटेको चुचुरो अरूकै
त्यहाँ बाट देखेको दृश्य अरूकै
पाएको उँचाइ अरूकै,
बाटो काट्दाको घाउ
घाउको नपुरिने खाटा मात्रै आफ्नो रहेछ ।

यात्रा अरूकै
डरलाग्दो भेलमाथिको तुइन अरूकै
नदी तरे पछिको खुसी अरूकै
हातमा उठेका ठेलाहरू
खिलहरू मात्रै आफ्नो रहेछ।

धन्न खसिएन तुइनबाट
झरिएन मनै सिरिङ्ङ हुने
डरलाग्दा भीरहरूबाट
यात्राको भयानक सम्झना मात्रै आफ्नो रहेछ
गुमाएका सह -यात्रीहरूको पिडा मात्रै आफ्नो रहेछ
उनीहरूको बलिदानको ब्याज अरूकै
बलिदान अरूकै लागि रहेछ ।

हाम्रा झोलाहरू
पुरै यात्रामा हाम्रै काँधमा थिए
कसले चोर्यो हाम्रा सपनाहरू ?
कसले रित्तो पार्यो हाम्रा झोलाहरू?
फेरि थाल्नु पर्ने भो त्यही यात्रा
फेरि हिँड्नु पर्ने भो त्यही बाटो
नाँप्न पर्ने भो त्यही दूरी
जुन सकिएर पनि फेरि पुग्छ
शुरुकै बिन्दुमा ।

चौरजहारी रुकुम
हालः टिमिन्स, क्यानडा

(गाैतम नेपाली साहित्य समाज, क्यानडाको पूर्व अध्यक्ष, सल्लाहकार, एन आए एन क्यानडाको भाषा, साहित्य र संस्कृति समितिका पूर्व संयोजक हुन् । उनको एउटा कविता संग्रह ‘भेरी किनारमा एक क्षण’ प्रकाशित छ ।)

हामीले बोकेका झोलाहरूमा
भविष्य अरूकै रहेछ
हामीले पसिना चुहाउँदै
तय गरेको गन्तव्य पनि अरूकै
थाकेर रुखमुनि बसेर कल्पिएका
मीठा क्षणहरू पनि अरूकै,
सारा दुखको विगत आफ्नो
बोकेको भार आफ्नो
थेगेको पिडा आफ्नो
हामीले लडेको भविष्य अरूकै रहेछ ।

प्रतिक्रिया
Loading...