यही २१ औं आधुनिक समाजबाट

तिरस्कृत मानव म

मलाई पाखा लगाइएको छ यहाँ

यो समाजले मेरो छुट्टै उपनाम दिएको छ दलित

मैले छोएको चल्दैन रे यहाँ

यो समाज पनि कति बैमानी छ है

विवेक श्रेष्ठ

ठुलाबडाको घर पस्न हुन्न रे म

तर कुकुर पनि घरभित्र पालिन्छ यहाँ

मैले खलखली पसिना बगाएर

पिटेको फलाम चल्छ यहाँ

मैले रातदिन नभनी सिएको

कपडा चल्छ यहाँ

सजाउन सजिन मेरै सीप खोजिन्छ यहाँ

तर मैले छोएको चल्दैन यहाँ

यही जल्दोबल्दो समाजले स्वीकार्न सकेन यहाँ

काटे रगत रातै किन खोज्छौ जातै

मान्छेकै छ राज जात भन्न नि लाज

छिया छिया भयो मन जातैले गर्दा बास पनि नपाइने भो

अपनाउने छु अब सत्य कुरा मैले

बदलिन नसक्ने यो समाज कैले

माया गर्नेलाई यो समाज दिवार भो

मीठो नाता साथीमै सीमित भो

फुल्दै गरेको प्रेमको फूल कोपिलामै चुँडियो

चाहेको व्यक्तिसँग प्रेम गर्ने अधिकार पनि छैन यहाँ

आफ्नै अधिकार खोज्दा खोज्दा

मेरै अस्तित्व मेटाउन पनि पछि परिन्न यहाँ ।