हिजो हजुरबुवाले
घरमा टुकीबत्ती बालेर
बारीको गरामा बिजुलीको
खम्बा गाड्दा
आज नातिको पुर्पुरो बलेको छ।
हिजो हजुरमुमाले
हिलो मुछेर लगाएको
बारीको काल्लाहरू
आज नातिको छाक
टार्ने भाँडो भएको छ ।
हिजो हजुरबुवाले
घामपानी हुरीबतास
दुस्मनको तातो गोली
सहेर जोडिएको रङ्गशाला
जत्रा बारीका गराहरू
आज नातिले चिरा-चिरा
पारी मुख मिठ्ठाउँदा
ती पितृ भएका हजुरबुवाको
छाती कति जलेको होला ।
हिजो हजुरबुवाले कमाउनुभएको नाम
जोगाउनुभएको इज्जत
अनि
हजुरमुमाले सञ्चय
गरिदिनुभएको मान प्रतिष्ठान
आज नातिले
ठेस पुऱ्याउँदा
आघात पुऱ्याउँदा
ती पितृ भएका हजुरबुवा
हजुरमुमाको आत्मा कति रुँदो होला ।
जीवन के हो?
कर्तव्य के हो?
अधिकार के हो?
सबै बुझ्न र जान्न पर्दछ
आफ्नो व्यवहारमा प्रयोगमा ल्याउन पर्दछ ।
कर्तव्य सेवा हो
अधिकार धर्म हो
संस्कार हो
जीवन प्रयोगशाला हो
पितृ आदर्श हुन्
अमूल्य सम्पत्ति
जसको नामले आज
नातिको पहिचान बनेको छ
त्यो पहिचान गुमाउनु हुँदैन
पुर्खाको नाम बजारमा बिकाउनु हुँदैन
मान गर सम्मान गर
भोलि ती आफ्ना सन्ततिका लागि
संस्कार बनाऔँ
नातिलाई सम्पत्ति होइन
संस्कार दिऔँ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।