सोमनाथ घिमिरे

हिँड्दाहिँड्दै
यही चौतारीमा
आइपुगेपछि
मेरा नानीहरू पनि
एकपटक
फर्किएर
आफैँ  हिँडेको बाटाहरू हेर्लान्
आफ्नै पाइलाहरू हेर्लान्
अझ प्रिय लाग्लान्
यी बाटाका रङ्गहरू
बाटाका काडाँहरू
भिरमा फूल टिप्दै गर्दा चिप्लिएर
लडेका डामहरू

सुमसुम्याउँदै पैताला,
बिझेका काडाँहरू झिकेर
पुरानो बगलीमा
सँगालेर राख्लान्

जीवनका प्रिय रङ्गहरू
आफ्ना सन्तानहरूका निम्ति
र यही चौतारीमा सुस्ताउलान्
फूलहरूभन्दा कोमल
जीवनको बहुमूल्य उपहार
थकित थकित अनुहार!