ऊ हातभरि आगोका लप्काहरू खेलाइरहेछ
घरिघरि बन्दुक पनि तेर्स्याइरहेछ
कुनै सर्कसको जोकरजस्तो
उसको हिंस्रक अनुहारमा
जुगुप्सा परावर्तित भएको सोझै देखिन्छ
ऊ सोझो हिँड्ने गर्दैन र अरूलाई पनि त्यसै गर्न सिकाउँछ
ऊ बर्बराउँछ- जे पनि भनिदिन्छ
मानौँ, ऊ नै सत्य हो र सत्यमा उसको मात्र एकाधिकार छ ।
ऊ भागेको छैन- हामीबीच नै गजधम्म बसेको छ
त्रास र यन्त्रणा उसका खजाना हुन्
घरिघरि खोल्छ र बन्द गर्छ
ऊ मार्च पास गर्छ र सलाम गरे/नगरेको नियाल्छ
ऊ बोल्छ र ताली बजाएको/नबजाएको हेर्छ
उसले यसैलाई विजय सम्झेको छ
आफू सुरक्षित घेराभित्र भए पनि ऊ
निदाउन सक्दैन र बर्बराउँछ
उसको शक्ति आफ्नो पतन भएका बेला मात्र
उसलाई थाहा हुन्छ- यो सबै त भ्रम रहेछ ।