कवि भ्यालेरीले भनेका छन्, “कविले कविता लेख्नु आधा मात्र हो, त्यो पूर्ण त पाठकले पढेर तिनमा अर्थ आरोपित गरेपछि हुन्छ।”

साहित्यको मूल केन्द्र संवेदना हो। अहिले हाम्रो जीवनमा संवेदनाको ठाउँ सूचनाले ओगटेको छ। सोसल साइटमा हामी भर्चुएल संवेदना प्रकट गर्ने जमानामा छौँ। हामी संवेदनशील भइ टपल्दैछौ।

मानवता अहिले झिनो धागो बनेको छ, जो कुनै समय पनि चुँडिन सक्छ। तर साहित्यले भने यसलाई जोगाएर राख्ने आफ्नो धर्म निर्वाह गरिरहेको छ। लेखक / कवि नहुँदा हुन् त संवेदना हराएको यो समयमा हामी नितान्त एक्लो हुन्थ्यो। साहित्य विधामा कविता व्यापक रूपमा लेखिँदै आइराखेको छ ।

जीवन दुःख र सुखको साझा सम्मिश्रण हो । कविताले त्यही जीवनको विम्बहरू नै बोकेको हुन्छ। कवि हुने लालसामा पनि कविहरूले कविता लेखेकै हुन्छन्। तर लेख्दालेख्दै कविता जीवनको पाटो भइदिनु र त्यसपछि कविताले एउटा छुट्टै बाटो तय गर्नु कवि कविताकर्मीको रूपमा उभिनु हो, जो साँच्चै सुखद् लाग्छ मलाई।

यतिखेर आफूले लेखेका कविताहरूबाट कविले आफूलाई समाजको सरोकारमा जिम्मेवारबोध भएको ठान्छ । जीवन यात्राका आफ्ना भोगाई/ दृष्टिकोणका छायाँ-कथाहरू नै त कविको कवितामा पाइने अभिव्यक्तिहरू हुन्। कवि आफ्नो जीवनको भोगाईभन्दा पर रहेर ढोँगी हुन सक्दैन। कवि कुन समाजमा कुन समयसँग कसरी बाँचिरहेको छ, त्यसले निर्धारण गर्छ उसका अभिव्यक्तिहरू।

साहित्यपोस्टको पोस्टरकविता अभियानअन्तर्गत प्रत्येक बिहीबार पोस्टरकविता श्रृंखलामा विश्वभरि छरेर बसेका कविहरूको उतकृष्ट कविता प्रकाशमा ल्याउने गर्दछ र यो गर्नुको मुख्य उद्देश्य पोस्टरकविताको सौन्दर्यबाट कला र साहित्यबोध गराउनु हो।

अहिलेको यो कोभिडकाल तनावपूर्ण बनेको छ। चारैतिर मृत्युदर बढ्दैछ, पोजिटिभ केस थपिँदैछ। यतिखेर मानसिक तनाव खुब बढेको छ तर साहित्यमार्फत सकरात्मक भाइभ पाठकहरुसम्म पुराउने यो सानो प्रयास साहित्यप‍ोस्टको यस पोस्टरकविता अभियानले गर्दैछ।

४० औँ शृङ्खलामा आइपुग्दा कविता पढ्ने औ साहित्यमा रुचि देखाउने पाठकहरु कविहरुको यस भीड देख्दा लागेको छ, हाम्रो भाषा साहित्यको विकास र उन्नति भइरहेको छ।

सम्पादक
रवि रोदन
साहित्यपोस्ट पोस्टर कविता