कवि गजानन माधव मुक्तिबोधको परिचय
गजानन माधव ‘मुक्तिबोध’को जन्म १३ नवम्बर १९१७ मा श्योपुर (शिवपुरी) जिल्ला मुरैना, ग्वालियर (मध्य प्रदेश) मा भएको हो । मुक्तिबोधले प्रारम्भिक शिक्षा उज्जैनमा प्राप्त गरे । १९३८ मा बी० ए० उत्तीर्ण गरेपश्चात उनी उज्जैनकै मोर्डन स्कुलमा अध्यापन गर्न थाले । पछि उनले अनेक स्थानका विद्यालयमा अध्यापन गरे र १९५४ मा एम० ए० गरेपछि राजनाँद गाउँको दिग्विजय कलेजमा प्राध्यापक पदमा नियुक्त भए ।
मुक्तिबोधले माता-पिताको इच्छाविरूद्ध घरमै काम गर्ने युवतीसँग विवाह गरे पनि पत्नीसँग उनको वैचारिक मतभिन्नताका कारण उनको वैवाहिक जीवन त्यति सुखद रहेन । उनी अत्यन्त अध्ययनशील थिए त्यसैले आर्थिक सङ्कटले पनि उनको अध्ययनशीलतामा बाधा उत्पन्न गर्न सकेन । राजनाँद गाउँमा रहँदा उनले अङ्ग्रेज़ी, फ्रेन्च तथा रूसी उपन्यासका साथै जासूसी, वैज्ञानिक उपन्यास, विभिन्न देशको इतिहास तथा विज्ञान-विषयक साहित्यको गहन अध्ययन गरे । यसै अध्ययनको फलस्वरूप १९६२ मा उनको अन्तिम रचना, ‘भारत इतिहास और संस्कृति’ प्रकाशित भयो । यो पुस्तक प्रकाशित हुनासाथ उनी तत्कालीन मध्यप्रदेश सरकारको आँखी बने यसैबिच अकस्मात् १७ फरवरी १९६४ मा पक्षाघातका कारण उनको निधन भयो ।
मुक्तिबोध मूलत: प्रगतिशील कवि हुन् । जयशंकर प्रसाद, शमशेर, कुँवर नारायण जस्ता कविहरूको उनले आलोचना गरेका छन् । खासगरी उनको फ्यान्टासी-विवेचना र त्यसको काव्यात्मक प्रयोग अत्यन्त गहन र महत्त्वपूर्ण मानिन्छन् । हिन्दी नवकवितालाई एउटा नयाँ उचाइ प्रदान गर्ने कार्यमा उनको योगदान उल्लेख्य मानिन्छ । डा. नामवर सिंहका शब्दमा- “नई कविता में मुक्तिबोध की जगह वही है ,जो छायावाद में निराला की थी। निराला के समान ही मुक्तिबोध ने भी अपनी युग के सामान्य काव्य-मूल्यों को प्रतिफलित करने के साथ ही उनकी सीमा की चुनौती देकर उस सर्जनात्मक विशिष्टता को चरितार्थ किया, जिससे समकालीन काव्य का सही मूल्यांकन हो सका।”
मुक्तिबोध अज्ञेयद्वारा सम्पादित तार सप्तकका पहिलो कवि थिए । तार सप्तक भारतीय नयाँ कविताको प्रस्थानबिन्दु मानिन्छ र प्रयोगवादी हिन्दी किवताको पनि । मानवीय अस्मिता, आत्मसङ्घर्ष र प्रखर राजनैतिक चेतनाले समृद्ध उनका कविता पहिलो पटक ‘तार सप्तक’ का माध्यमबाट प्रकाशनमा आए पनि उनका नुनै पनि स्वतन्त्र काव्य-सङग्रह उनको जीवनकालमा प्रकाशित हुन सकेनन् । मृत्युअघि श्रीकान्त वर्माले उनको ‘एक साहित्यिक की डायरी’ प्रकाशित गरेका थिए ।
उनका प्रकाशित कृतिहरू निम्न छन् :
• चाँद का मुँह टेढ़ा है – (कविता सङ्ग्रह), १९६४, भारतीय ज्ञानपीठ.
• नई कविता का आत्मसंघर्ष तथा अन्य निबंध (निबन्ध सङ्ग्रह), १९६४, विश्वभारती प्रकाशन.
• एक साहित्यिक की डायरी (निबन्ध सङ्ग्रह), १९६४, भारतीय ज्ञानपीठ.
• काठ का सपना (कहानी सङ्ग्रह), १९६७, भारतीय ज्ञानपीठ.
• विपात्र (उपन्यास), १९७०, भारतीय ज्ञानपीठ.
• नये साहित्य का सौंदर्यशास्त्र, १९७१, राधाकृष्ण प्रकाशन.
• सतह से उठता आदमी (कहानी सङ्ग्रह), १९७१, भारतीय ज्ञानपीठ
• कामायनी: एक पुनर्विचार, १९७३, साहित्य भारती.
• भूरी-भूरी खाक धूल – (कविता सङ्ग्रह), १९८०, नई दिल्ली, राजकमल प्रकाशन.
• मुक्तिबोध रचनावली, नेमिचंद्र जैन द्वारा संपादित, (६ खण्ड), १९८०, राजकमल प्रकाशन.
• समीक्षा की समस्याएं, १९८२, राजकमल प्रकाशन.
उनको स्मृतिमा मध्य प्रदेश साहित्य परिषद्ले वार्षिक मुक्ति बोध पुरस्कारको स्थापना गरेको छ । २००४ मा छत्तीसगढको राजनन्द गाउँमा ‘मुक्तिबोध स्मारक’ को स्थापना गरिएको छ ।
प्रायः लामो आयामका कविता लेख्ने मुक्तिबोधको ‘ब्रह्मराक्षस’ कविता एउटा बहुचर्चित कविता हो । प्राचीन अतीतदेखि वर्तमानसम्म तन्किएको यस कवितामा फ्यान्टासीको सुन्दरतम प्रयोग पाइन्छ । विश्लेषकहरूले धेरै कोणबाट व्याख्या गरेको यस कवितामा पुरातन समयदेखि वर्तमान विश्वसम्मको झलकलाई अत्यन्त प्रभावपूर्ण ढङ्गले प्रस्तुत गरिएको छ । भाषान्तर कविताको यस शृङ्खलामा कवि मुक्तिबोधको ‘ब्रह्मराक्षस’ कविताको अनुवाद प्रस्तुत गरिएको छ ।
•••
ब्रह्मराक्षस
गजानन माधव मुक्तिबोध
सहरको उतापट्टि खण्डहरतर्फ
परित्यक्त सुनसान तलाउ छ
त्यसको
चिसो अन्धकारभित्र स्थित
पानीको अतल गहिराइमा
डुबेका छन् अनेक सिँढी
त्यो पुरातन बन्दी जस्तो पानीमा
बुझ्नै नसकिने खालको
मानौँ कुनै रहस्यको आधार छ
रहस्य तर गहिरो छ ।
घेरेर तलाउलाई
जेलिएका छन् हाँगाहरू
उभिएका छन् मौन डुम्रीका रूखहरू ।
र हाँगाहरूमा
झुन्डिरहेका छन् लाटोकोसेराका गुँडहरू
परित्यक्त खैरा गोलाकार ।
विद्युत् शत पुण्यको आभास
जङ्गली हरियो काँचो गन्धमा बसेर
पौडिँदै हावामा
बन्छ गम्भीर संदेह
विगतको अपरिचित कुनै त्यो श्रेष्ठताको
जसले मनमा एउटा चिन्ता उब्जाइरहन्छ ।
तलाउका यी डिलहरूमा
मनोहर हरियो कुहिना टेकेर
बसेका छन् सुगन्धवालाका बोटहरू
लिएर श्वेत पुष्पताराहरू
त्यसको छेवैमा
राता फूलहरूका लहराको झ्याङ
मेरा प्रिय फूलहरू…
बोलाउँछन् मलाई एउटा खतरातर्फ
जहाँ अन्धकार तलाउको खुला मुख
हेरिरहेछ शून्य आकाशलाई ।
तलाउको त्यो शून्य गहिराइमा
बसेको छ एउटा ब्रह्मराक्षस
र, गुन्जिरहेछ भित्रबाट प्रतिध्वनिको प्रतिध्वनि
आत्तिएका बौलाहा शब्दहरूजस्तै ।
अनुमानको गहनता
र शरीरको मलीनता
हटाउनका लागि प्रतिपल
हटाउनका लागि पापको छाया रातदिन
बनाउनका लागि सुग्घर
बह्मराक्षस
घोटिरहेछ जिउ
हत्केलाहरूले लगातार
छ्यापिरहेछ पानी
हात-छाती-मुख सफा गर्दै
र पनि मैलो
अझै मैलो !
र… ओठहरूबाट
कुनै अनौठो स्तोत्रको क्रुद्ध मन्त्रोच्चारण गरिरहेछ
भनौँ आएको छ शुद्ध संस्कृतका गालीहरूको ज्वार
निधारका रेखाहरू
बुनिरहेछन्
आलोचनाका तेजिला तार
त्यो अखण्ड स्नानको पागल प्रवाहमा
प्राणको संवेदनामा कालो पोतिएको छ !
तर गहिरो तलाउको
भित्री पर्खालमा
सूर्यका तेर्सा किरणहरू
र तिनका उडिरहेका परमाणु
जब पुग्छन् पिँधसम्म
लाग्छ ब्रह्मराक्षसलाई-
सूर्यले उसलाई नमस्कार गरेको छ निहुरेर ।
बाटो बिर्सेर
जब ठोक्किन्छन्
चन्द्रकिरणहरू भित्तामा
सोच्छ ब्रह्मराक्षस-
ज्ञान गुरु मानेर चन्द्रमाले
वन्दना गरेको छ उसको ।
अति प्रफुल्लित उसको तन मन
गरिरहन्छ अनुभव-
विनीत भएर आकाशले स्विकारेको छ उसको श्रेष्ठता !
र, त्यसपछि दोहोरो भयानक ओजका साथ
चिरपरिचित हृदय
सुमेरियन-बेबिलोनियन लोककथाहरूदेखि
मधुर वैदिक ऋचाहरूसम्म
र त्यस बेलादेखि अहिलेसम्मका सूत्र, मन्त्र, थियोरम,
सबैका प्रेमीहरूसम्म
ती मार्क्स, एङ्गेल्स, रसल, तोएनबी
ती हेडेगर र स्पेङ्गलर, सार्त्र, गान्धी पनि
सबै सबैको सिद्धि-समाप्तिको
नयाँ व्याख्यान गर्दै
नुहाउँछ ब्रह्मराक्षस,
प्राचीन तलाउको
सघन शून्य गहिराइमा ।
… … यो गर्जन, गुञ्जन, आन्दोलन
गहिराइबाट उठिरहेका ध्वनिहरू
भ्रामक शब्दहरूको नयाँ आवर्तमा
प्रत्येक शब्दले एकअर्कालाई विभाजित गर्छन्,
रूप सङ्घर्ष गरिरहेछ आफ्नै बिम्बहरूसँग
बनिरहेछ विकृत
सङ्घर्ष गरिरहेको छ ध्वनि
यहाँ आफ्नै प्रतिध्वनिसँग निरन्तर
तलाउका यी डिलहरूमा
मनोहर हरिया कुहिना टेकेर सुन्छन्
सुगन्धवालाका सेता पुष्पताराहरू
ती ध्वनिहरू !
सुन्छन् चुवाका सुकोमल फूलहरू
सुन्छन् तिनलाई प्राचीन डुम्रीका रुखहरू
सुन्दै छु म पनि त्यही
पागल प्रतीकहरूमा गुन्जिएको
त्यो ट्रेजडी
जो स्थिर छ तलाउमा ।
xxx
एउटा निकै अग्लो पुरानो भर्याङ
त्यसका अँध्यारा सिँढीहरू …
जो भित्री अनौठो लोकसँग सम्बन्धित छन् ।
एक खुट्किला उक्लनु र एक ओर्लनु,
फेरि उक्लनु र पछारिनु,
मर्किन्छ गोडा
र छातीमा खोपिन्छन् अनेक घाउहरू ।
असल र खराबबिचको सङ्घर्ष
त्यो पनि झन् उग्र
राम्रो र झन् राम्रोबिचको मोर्चाबन्दीमा
किञ्चित सानो सफलता,
भव्य ठुलो असफलता
… चरमपन्थी पूर्णताका
व्यथाहरू बरु धेरै प्रिय छन् …
ज्यामितीय सङ्गति
र गणितीय दृश्यको
उच्च नैतिक मूल्य
आत्म-सचेत सूक्ष्म नैतिक मूल्यहरू …
… अतिरञ्जित पूर्णतालाई तुष्टि दिन्छन्
यो कहिले पो सजिलो थियो र ?
मानवीय अन्तर्कथाहरू निकै प्रिय छन् !!
सूर्य उदाउँछ
चिन्ताहरूको रातो रक्त-प्रवाह
बगिरहन्छ भित्ताहरूमा,
उदाउँदो चन्द्रमा
घाउहरूरूमा बाँध्छ
सेता-धवल पट्टीहरू
क्रोधित भालाहरू झैँ
आकाशमा फैलिएका छन् तारा
अनगिन्ती दशमलवदेखि
दशमलव बिन्दुहरूसम्म चारैतिर
पसारिएका छन् पेचिला गणितका मैदानमा
मारियो, ऊ काममा आएको थियो,
र ऊ पसारिएको छ …
छाती – अँगालो खुला फैलिएको
एक शोधकर्ताको ।
व्यक्तित्व एक नरम स्फटिक दरबार जस्तै हो,
दरबारमा भर्याङ
र भर्याङका एक्लाएक्लै सिँढीहरू
उक्लिन निकै कठिन थियो ।
ती भावहरू तर्कसङ्गत छन्
कार्य सामञ्जस्यमा जोडिएका
समीकरणका गणितीय सिँढीहरू
हामी छाडिदिन्छौँ उसका लागि ।
त्यो भाव, तर्क र कार्य-सामञ्जस्य-योजना-
अनुसन्धानमा
सारा पण्डित, समस्त चिन्तकहरू खोज्दै
ऊ भौँतारियो
गुरुको खोजीमा !!
तर युग परिवर्तन भयो र आए ख्यातिप्राप्त व्यापारी
… लाभदायक कामबाट धन,
र धनबाट, हृदय – मन,
अनि, धन-अभिभूत अन्तस्करणबाट
सत्यको धमिलो छाया
लगातार चिच्याइरहन्थ्यो ।
आत्मसजग भएर पनि त्यसको
व्यक्तित्वमा एक जीवन्त झगडा थियो …
वैश्विक चेतको विनिर्माण !
महत्त्वको चरणमा थियो
विषादले आकुल मन !
त्यसै दिन ऊसित मेरो मिलन हुँदो हो त
उसका व्यथामा आफै बाँचेर
म बताउँथेँ उसलाई उसको आफ्नै मूल्य
उसको महत्ता
र त्यो महत्ताको
हामी जस्ताका लागि उपयोग
त्यो आन्तरिकताको बताउँथेँ म महत्त्व !!
थिचियो ऊ
भित्री र बाहिरी दुई कठिन पाटाहरूका बिच
एउटा भयानक त्रासदी !!
तलाउमा ऊ स्वयम्
भनिरहेछ पागल प्रतीकमा निरन्तर
कसरी त्यो कालकोठरीमा
गनिरह्यो जीवनका दिन
र मर्यो …
त्यो सघन काँडायुक्त झाडीको
निबिड अन्धकारमा
मरेको चरा जसरी
बिदा भयो
त्यो अज्ञात उज्यालो सदाका लागि निदायो
यस्तो किन भयो !
यस्तो किन भयो !!
म हुन चाहान्छु-
ब्रह्मराक्षसको सजल-हृदयी शिष्य
र पुर्याउन चाहन्छु-
उसका अधुरा काम,
उसका वेदनाका स्रोतहरूलाई
सङ्गतिपूर्ण निष्कर्षसम्म ।
•••
अनुवाद : निमेष निखिल



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

