हो, म त्यो दिन सम्झिन्छु
तिमीलाई सम्झिन्छु
तिम्रा वाचाहरू पनि सम्झिन्छु
अनि त्यो कहालीलाग्दो रात पनि सम्झिन्छु
मेरो अनुहारमा एसिड छ्याप्ने
मेरो खुसीको बीभत्स हत्या गर्ने
तिमी मेरी श्रीमती नै हौ
भनेर सम्झिँदा म दुख्छु
मेरो त्यो पिपैपिपले भरिएको
घाउभन्दा पनि नराम्ररी दुख्छु ।

म त्यो रात सायद त्यति रोएको थिइनँ होला
जति म भोलिपल्ट हस्पिटलमा
आफ्नो अनुहार देखेर रोएँ
हस्पिटलको त्यो ऐनाअगाडि
म उभिएको थिएँ
तर ऐनामा म थिइनँ ।

सिन्धिया श्रेष्ठ

ऐनामा देखिएको आकृतिको
एउटा कान थिएन
टाउकाको आधा भागमा कपाल नै थिएन
अनुहार भयानक देखिन्थ्यो
निकै नै भयानक..

म आत्तिएँ, म चिच्याएँ
म डराएँ त्यस आकृतिलाई देखेर
म डराएँ म आफैँलाई देखेर
सायद ।

अहिले
मेरो घाउ उस्तै पोल्छ
तर हाँस्न सिकेको छु
म एक्लो छु
तर खुसी छु, सायद।

म कसैलाई केही भन्दिनँ
अपराधीलाई सजायको माग गर्ने संस्था छ
मेरा लागि न्यायको माग गर्ने
मानवअधिकारवादीहरू पनि छन्
प्रशस्तै
यो सब देखेर पनि चुप लागेर बस्ने
मभन्दा पनि बिचरा
मेरो देशको कानुन छ
त्यसैले, मलाई कसैको आश छैन
कसैलाई केही भन्दिनँ
बरु म तिमीलाई नै
एउटा प्रश्न सोध्न चाहन्छु
ए एसिड छ्याप्ने नारी-
के तिमी पनि देवी नै हौ‌?