Chovar Blues Mobile Size

सुवास बजगाँई

म तेरो आमा हुँ भनी
आमा चिनिइन्
ऊ तेरो बाउ हेर्, आमाले चिनाइन्
यो दाजु
यो दिदी
आमाले परिवार चिनाइन्

आमाले गाउँघर चिनाइन् देश चिनाइन्
को-खा को-खा गर्दै
आमाले भोजन चिनाइन्
क-ख क-ख गर्दै
अक्षर चिनाइन् ।

देख्छु,
यसरी अपरिचित हुँदाहुँदै परिचय बनेछन्
असम्बद्ध हुँदाहुँदै सम्बन्धहरू बनेछन्
सोच्छु,
त्यस्ता आवरणहरूभित्र
बादलभित्रको सूर्यझैँ
जीवन निसासिरहेको पाउँछु
म के हुँ ?
को हुँ ?
डुब्छु अतिशय मेरो परिचय हराउँछ
मभित्र ईश्वर निर्भीक मुस्काउँछ ।

जब जब पाउँछु
घरको आँगन पिँढीमा खेलिरहेका
ती कलिला ईश्वरहरूको सामीप्य
ती निर्दोष बालकृष्णहरूको आतिथ्य
मोहरूपी मायारूपी
जीवनका मृगतृष्णाहरू
विलुप्त बिलाउँछन्
चल्छ नयाँ हावा नयाँ घाम उदाउँछ
मभित्र ईश्वर निर्भीक मुस्काउँछ ।