यहाँभन्दा मूल्यवान् चिज ए क्रोधले भरिएका मानिसहरू हो !
एकछिन शान्त भएर सुन त!
ए लोभ र लालचले भरिपूर्ण प्राणी हो
एकछिन रोकिएर हेर त
ए सत्यको खोजीमा हिँडेकाहरू हो
तिमीहरू पनि सुन !
तिमीहरू कसैलाई यी दुई प्रश्नको उत्तर थाहा छ?
प्रश्न नम्बर एक
आमाको कोखबाट आएको मानिस जान्छ कहाँ?
प्रश्न नम्बर दुई
आफूले नभोग्दै देखेर मात्रै बुझ्न सक्ने क्षमता मानिसमा छ कि छैन?
आऊ मानिस आऊ यी दुइटा प्रश्नको उत्तर खोज्न
एकछिन समय निकालेर
यी मानिसहरू कहाँ जाँदैछन् नियालेर हेर।
ऊ हेर त !
ऊ त्यो कालो मानिस कता जाँदै छ?
ऊ अर्को गोरोवाला पनि कता जाँदै छ नि?
ऊ दुब्लो पनि गयो, पात्लो पनि गयो!
ऊ हेर त भएभरका सबै एकैबाटोबाट गएनी!
अस्तिसम्म
एकअर्काको मुख नहेर्नेहरू पनि सँगै छन् त!
यस्तो अचम्म पनि हुँदो रहेछ है!
शत्रुहरू पनि सँगै गए!
कोही अलि छिटो गए,
कोही अलि ढिलो गए!
तर एउटै बाटामा
जान चाहिँ सबै गए।
ऊ हेर त!
अरूका अँखामा बस्न सफलहरू पनि गए,
राम्रा, सुन्दरहरू पनि गए,
छुच्चा, कुच्चिएकाहरू पनि गए,
कुनै समयका सफलहरू पनि गए,
कुनै समयका विफलहरू पनि गए,
कसैसँग नडराउने बाघजस्ताहरू पनि गए,
सबैसँग डाराउने स्यालजस्ताहरू पनि गए,
दम्भी, डरपोक, दयालु, दरिद्र, दुःखी, धनी, गरिब
सबै गए!
हेर त !
पक्का पनि केही समयका लागि मात्र आएका थिए
गए!
आउन पाउनेले केही दिन संसार हेरे
संसारमा नै केही गरे
गए!
तर अचम्म के छ कि?
संसार चलिरहेकै छ !
कोही आओस् या जाओस्
समय बोकेर संसार आफ्नै धुनमा चलिरहेको छ।
छिमेकीको घरमा जन्मदिन मनाइरहेकै छन्,
पल्लो गाउँले विवाहमा गरिरहेकै छन्,
ओल्लो गाउँमा मलामी भैरहेकै छन्,
सबै आआफ्नो धुनमा आइरहेका छन्!
गइरहेको छन्!
खाइरहेका छन्!
हो यसैगरी यी मानिसहरू जन्मेदेखिन्
जन्म, विवाह र मृत्युजस्ता घटनाको
साक्षी बनिरहेकै छन् ।
तर अफसोस !
आफ्नै मृत्युको साक्षी बनेदेखि
कोही पनि फर्केर आएका छैनन् ।
आफू गएदेखि संसारका बहुमूल्य चिजहरू पनि
जानेहरूका लागि
मूल्यहीन हुन्छन् जस्तो छ!
शङ्का लाग्छ
कि त ? तिनीहरू सबै जानेबाटामा
केही अरू त राखिएको छैन?
नत्र त फर्केर आउनुपर्ने नि !
नखाई नलाई कमाएको
सम्पत्ति छोडेर
सबै गैरहेकै बाटामा गएदेखि
कोही फर्केर आएनन्।
फेरि शङ्का लाग्छ
ती जाने जति कतै शून्य त भएनन्???
के. आई. सिंह. गाउपालिका-३, डोटी, हाल त्रि. वि. कीर्तिपुर



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

