एसके निधन

बहुलाउने भनेकै सद्दे मान्छे हो
जस्तो कि :
यसपटक नवराज पराजुली बौलायो ।

देखेको छु ,
कुट्मेरोको रूख चढेर आमाले घाँस काटेको
सालको रूख चढेर भाउजूले पात टिपेको
बेलको रूख चढेर काकीले बेलपत्र बटुलेको
सम्झना छ ,
रूखमा अड्किएको चङ्गा
दिदीले झिकेर ल्याइदिएको
पखला लागेर सुतेका बेला
बहिनीले काँचो बेलौती टिपेर दिएको ।

आमाले चोर्नु भएन
कुट्मेराको टोक्राबाट ढुकुरका फूल
भाउजूले काट्नु भएन
सालको रूख चढेर सालकै टुप्पो
काकीले फेर्नु भएन बेलको रूखबाट पिसाब
पीपलको हाँगो समातेर दिदीले गरिनन् दिशा
बेलौतीको रूखबाट,
कुरूप देखी बहिनीले मलाई
के नगर्नुपर्ने नगर्नु, रूख नचढ्नु हो ?

मैले
रूख चढेकी आमालाई आमा देख्छु
रूख चढेकी काकीलाई काकी देख्छु
रूख चढेकी भाउजूलाई भाउजू देख्छु
रूख चढेकी दिदीलाई दिदी देख्छु
रूख चढेकी बहिनीलाई बहिनी देख्छु
उसले
रूख चढेकी प्रेमिकालाई प्रेमिका देख्दैन
मात्रै देख्छ उसको गुप्ताङ्ग
उसलाई
सन्चो भएर फर्किएपछि
छोएर बरपीपलु सोध्नु छ,
तैले चढेको बरको रूख अग्लो कि
पासाङ्ल्हामुले चढेको सगरमाथा ?

बहुलाउने भनेकै सद्दे मान्छे हो
जस्तो कि
यसपटक नवराज पराजुली बौलायो ।