साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविताः सपनाको बन्ध्याकरण

 

म सपनाको बन्ध्याकरण गर्न चाहन्छु

नवीनचन्द्र घिमिरे

जुन सधैँ
आफूले देख्न चाहेजस्तो पनि हुँदैन
आफूले भोग्न चाहेजस्तो पनि हुँदैन
म त्यो सपना देख्न चाहन्नँ
जुन
यौटा महलको पर्खालभित्र बलात्कृत होस्
जो
नजन्मँदै आर्तनादको स्वरसँगै चित्कृत होस् ।

म सपनाको बन्ध्याकरण गर्न चाहन्छु

जसको
न फल हुन्छ
न बल हुन्छ
म चाहन्नँ, किञ्चित चाहन्नँ
छोरेटा छोरेटीले झैं रङ्गीन आकृतिसँगै
स्वप्न दोष थुपारेर
म आफूलाई गन्धा बनाउन चाहन्नँ
बाल निद्रामा घरिघरि आउने भयङ्कर आकृतिसँगै
म आफूलाई झस्काउन चाहन्नँ ।

म सपनाको बन्ध्याकरण गर्न चाहन्छु

जो बढी घाउ बनेर दुख्छ
बिना अर्थको स्वैरकल्पनाजस्तै
निद्राभरि मुस्काउने
निद्राभरि रमाउने
जुन निद्रासँगै हराइजाओस्
सानो हल्लासँगै बिलाइजाओस् ।

म सपनाको बन्ध्याकरण गर्न चाहन्छु

चाहनामा देख्न नपाइने
नचाहँदा नचाहँदै देख्नु पर्ने
म त्यै सपनाको बन्ध्याकरण गर्न चाहन्छु
जो मेरो
निद्राभर भ्रम भएर डुलिरहन्छ
शून्यतामा रोटेपिङझैँ झुलिरहन्छ ।

म सपनाको स्थायी बन्ध्याकरण गर्न चाहन्छु ।

मध्यनेपाल-६, लमजुङ

प्रतिक्रिया
Loading...