यतिखेर तिमी
यो देशलाई धेरै चाहिएको छ
दमाई दाइ,
अरु बेला नचाहिएको हैन
तर आज अलि धेरै चाहिएको छ ।
जुन देशमा तिमी अछूत थियौ नि
जुन देशमा तिमी हेपिएको थियौ नि
हो त्यही देशमा तिमी चाहिएको छ
तिम्रो कला चाहिएको छ
तिम्रो सियो र धागो चाहिएको छ
जुन देशमा तिमीलाई
कुकुर भन्दा तल्लो मानिन्थ्यो नि
हो त्यही देश आज चरक्क चर्किरहेको
यो चर्किएर च्यातिन लागेको
छुटिन लागेको देशलाई
तिम्रो सियोमा
सेतो गोलधागो हालेर
सर्लक्क सिलाई दिनु पर्यो
यी भ्वाङहरु खोजी खोजी टालिदिनु पर्यो ।
लौन दमाई दाइ
देश त च्यात्तिएर छुट्नै लाग्यो
सकिनै लाग्यो
बर्बाद हुन लाग्यो
लौन कामी दाइ
तिम्रो आरनमा राखेर
फलाममा फलाम जोडेझैँ
यो टुक्रिन लागेको
एउटा देशको अंश
माटो र चट्टानलाई
पुरानै ठाउँमा जोडिदिनु पर्यो ।
फलामलाई आकार दिन सक्ने
लुगामा लुगा जोड्न सक्ने
छालाले छाला टाल्न सक्ने तिमीले
फेरि एक चोटी
यो देशको सानो टुक्रा जोडिदिनु पर्यो
यो च्यात्तिनै लागेको देशलाई फेरि जोडिदिनु पर्यो।
लौन दमाई दाइ
लौन कामी दाइ
यति कृपा गरिदिनु पर्यो ।
फलामलाई आकार दिन सक्ने
लुगामा लुगा जोड्न सक्ने
छालाले छाला टाल्न सक्ने तिमीले
फेरि एक चोटी
यो देशको सानो टुक्रा जोडिदिनु पर्यो



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

