कविताः कटमिरो आधुनिकता
आधुनिकताको जलप पोतेका
नयाँ पुस्ताहरू
उत्तेजनाको बेलगाम घोडालाई
चाबुक लगाउँदै
धैर्य र संयमको पर्खाल नाघेर
जीवनको लामो यात्रामा सवार छन्
लक्ष्यस्थान अनिश्चित छ
उद्देश्य छ विस्मृत
झिल्के सहरका
निरर्थक रहरहरू
स्वतन्त्रताको नाममा नाचेका नग्न नृत्यहरू
बेसुरा गीतहरू
विदेशी रितहरू
र
चाउरे प्रीतहरूले
धुमिल पारेको वातावरणमा
निस्सासिरहेको छ मेरो मान्यताको नाक
परम्पराको हाँक
कत्ति रमाउन सकेको यो छारे रोगले ग्रस्त मेरो सहर
कत्ति इत्तरिन सकेको सुकेनाशले खोक्रिएको मेरो गाउँ
किन नबुझेका कुनै पनि समयमा मुर्छा पर्न सक्छन् भनेर?
मनोरन्जनका रङ्गी बिरङ्गी होर्डिङ बोकेर
बाटो छेक्छ सहरले
सन्मोहित गरिदिन्छ कलिला मुटुहरूलाई
अनि
नशालु आँखाहरूले
रात चिहाउँछ्न्
निषेधित छोपडीहरूभित्र
उत्तेजनाको बुइ चढाएर
घातक एचआइभीलाई
भित्र्याइरहेका छ्न् झोपडीहरूमा
अनि त्यहीँबाट निर्यात भइरहेछ
गाउँ बस्तीमा
सहरकै लहैलहैमा
गाउँका गोजीहरू पनि
ड्रगस चरस हिरोइन बोकेर रमाउन थालेका छ्न्
नठान तिमी
बत्ती बल्दै गाउँ- सहरहरू उज्याला हुन्छन्
संसारको सबै अँध्यारो छातीमा बोक्ने तालिम लिँदै छन सहरहरू
गाउँ पनि हिजोआज सहरजत्तिकै नक्कले भएको छ
आधुनिकता अनुहारमा पोतेकोपोतै
आफ्नो रूप कुरूप पारेर
पछि पछि कुद्दै छ
मेरो गाउँ
सल्पवस्त्रधारी युवतीको मोहमा
यौवनलाई बलत्कार गर्न सिपालु छ न गाँउ न सहर
अनगन्ती यौवन बलात्कृत भइरहेका छ्न्
आधुनिकताको घुम्टो ओढ्ने रहरमा
मेरा सहरहरूमा।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।