तराईका एक जना अपरिचित भद्र वृद्ध मानिसले

मलाई दार्जीलिङ कस्तो छ भनेर सोध्नुहुन्छ,

दार्जीलिङ यस्तो छ भनेर

म कसरी बताऊँ,

वहाँलाई !

 

दार्जीलिङ सम्झनासाथ मलाई मेरी आमाको यादले सताउँछ,

‘आमा ! आमा !’ भनेर बोलाउन मन लाग्छ ।

महोदय !

बरु तपाईँनै भन्नुहोस् तपाईँकी आमा कस्ती थिइन् ?

यो प्रश्नले अब तपाईँको माया र मेरो माया

एउटै भए होलान् !

आमा !

मेरी आमा !

मेरी मायालु आमा !

तपाईँको सम्झनामा मुटु कटकट दुखेर आयो !

 

ईगम खालिङ (दार्जीलिङ)

आमाको हातले पकाएका खानेकुराहरू खान मन लागिरहेको छ,

आमाको न्यानो काखमा यो क्षण यहाँ

निस्फिक्री निदाउन मन लागिरहेको छ ।

कुटेँ, काँटा अनि फरुवा निकालेर

दाजुभाइहरूसित बारीका कान्लाहरू

खन्न मन लागिरहेको छ ।

 

बहिनीको माया पोखरीमा ढुङ्गा हान्नुभयो नि महोदय !

कति मायालु छे मेरी बहिनी,

उसको आँखामा एक थोपा आँसु पनि

हेर्न सक्तिनँ म !

 

फुकफाक पार्ने, भट्किएका आत्मालाई बाटो लगाउने

बिजुवा चिम्टा बस्दा भेला हुने गाउँहरूले

यतिबेला के गर्दै होलान् ?

मादले गीत सुनेर रुने,

मारुनी नाचमा कम्मर हल्लाउँदै नाच्ने मेरी बज्यू

लट्ठी टेक्दै क्षितिजतिर मलाई हेर्दै होलिन् !

“छिटो आइज न नाती तँलाई हेर्न

मन लागिसक्यो” भन्दी होलिन् !

थोते दाँत देखाएर हाँस्दै होलिन् !

मेरी बज्यूलाई किनामाको झोल,

वन अदुवाको अचार

र कोदाको रोटी खुब मनपर्छ ।

अनि मेरी बज्यूलाई

आफ्नै चियाबारी,

आफ्नै लेकबेँसी,

आफ्नै गाउँ

मन पर्छ ।

 

बज्यू !

सुन्नुहोस् ल,

म तपाईँले मन पराउने

मादले गीत गाएर सुनाउँछु,

अनि तपाईँ थोते दाँत देखाउँदै हाँस्नू,

तपाईँ त्यसरी हाँस्दा मेरो मनभित्र खुसीको इन्द्रेणी लाग्छ ।

 

बाजे !

म सहिद भइहालेँ भने

सबैभन्दा पहिला तपाईँलाई भेट्न आउनेछु,

त्यतिबेला मेरो कान बेसरी निमोट्नू,

एकदुई थप्पड कस्सेर लगाउनू !

बाँचुन्जेल त एकताल कुट्नु भएन,

कहिले गाली धरि गर्नु भएन,

मैले तपाईँको मन कतै

दुखाइदिए होला

त्यसका लागि

म माफ पाऊँ !

 

विष्णुमाया काकी !

तपाईँको छोरा सहिद हुँदा

तपाईँले किन एक थोपा आँसु झार्नु भएन ?

तपाईँको घर जल्दा किन अलिकति पनि छटपटाउनु भएन ?

भेट भएको बेला म तपाईँलाई सोध्नेछु,

अवश्य सोध्नेछु नि !

त्यतिबेला नबोली

चुपचाप बसिरहने होइन नि !

 

नातिनातिनीका

लागि मात्र होइन

पनाति पनातिनीका लागि पनि

रूखका बिरुवाहरू लगाउने मेरो बाजे,

मेरो बिहेमा नाच्छु भन्नुहुन्थ्यो,

बुहारीलाई आफ्नै नातिनी छोरीजस्तो गर्छु भन्नुहुन्थ्यो,

पनाति पनातिनीलाई प्रत्येक बिहानबेलुकी घुमाउन लान्छु,

राति सुत्नेबेलामा कथा सुनाउँछु भन्नुहुन्थ्यो !

 

महोदय !

मेरो बाजे पनि तपाईँजस्तै

सेतै कपाल फुलेको, जोसिलो, फुर्तिलो र हँसिलो हुनुहुन्थ्यो ।

 

तपाईँले दार्जीलिङको चिया त अवश्य पिउनुभएको होला !

प्रत्येक घुट्कीमा त्यहाँ म मेरी आमाका औँलाहरूका स्पर्श पाउँछु,

नेपालीहरूको राष्ट्रिय पहिचानको सङ्घर्ष महसुस गर्छु,

सपनाको स्वाद पाउँछु,

रगतको सोझो आदर्श पाउँछु ।

तर विष्णुमाया काकी,

त्यो ढल्नै आँटेको झोपडीभित्र चुने छानामुनि

कसरी बस्छिन् होली !

 

काकी !

के तपाईँलाई पीडा हुँदैन ? के तपाईँलाई जाडो लाग्दैन ?

भेट हुँदा पक्का सोध्नेछु है !

एक बारका जुनीमा कहिल्यै नडराउनू अनि नरुनू भन्ने

मेरो बाजे हेर्नुहोस् त म कहिल्यै डराउँदिनँ !

रुँदिनँ !

 

आमा !

हेर्नुहोस् त

बुद्धले मोक्ष पाएजस्तो

मैले यहाँ तपाईँको मायालाई आविष्कार गरिरहेको छु !

मेरो काम,

मेरा सारा शैक्षिक डिग्रीहरूले

तपाईँको माया किन्न सकिन्न ।

म प्रायश्चित्तका निम्ति चिच्याइरहेछु

साथै एउटा डरमा भित्रभित्र धस्किरहेको छु,

तपाईँलाई दिएको कसम सम्झेर अत्तालिरहेको छु ।

मैले कतिपल्ट तपाईँको मन दुखाइदिए होला,

क्षमा गर्नुहोस् है,

मेरी आमा !

 

यहाँ

महोदयले

मेरी आमा कस्ती छिन् भनेर सोध्छन् !

यतिबेला मलाई रुन मन लागिरहेछ तर म रुँदिनँ ।

बाजे,

तपाईँले कहिल्यै नरुनू भन्नुभएको छ नि !

 

पापा !

हेर्नुहोस् त

तपाईँले दिनुभएका आदर्श मैले

मेरो हृदयको मजुरीमा फुलाएर सुरक्षित राखेको छु ।

तपाईँको गर्व बन्नलाई कति सङ्घर्ष गरिरहेको छु ।

तपाईँले दिनुभएको संस्कार

म कञ्चनजङ्घाजस्तो चोखो देखिरहेको छु ।

 

हेर्नुहोस् न,

यहाँ महाशयले

दार्जीलिङ कस्तो छ भनेर सोध्नुहुन्छ !

म भने यतिबेला मात्रै कञ्चनजङ्घा देखिरहेको छु,

तलतल पहाडभरि हाम्रा बाजेबज्यूहरूले रोपेका

चियाका हरियाहरिया गाजहरू देखिरहेको छु,

गुराँस, चाँप र सुनाखरीजस्ता फुल्ने नेपालीहरूका

मन देखिरहेको छु।

 

दार्जीलिङ साँच्चै असाधरण छ भनेर

मलाई खुसी पार्न खोज्छन्,

यहाँ महोदय !

तर यतिखेर

म त मात्रै मेरी आमालाई देखिरहेको छु—

गोबर र माटाले घरका भित्ताहरू लिप्दै छिन्,

सकी नसकी एकहुल औरतहरू दाउराका भारी बोकेर

जङ्गलबाट घर फर्किरहेका छन्,

सा-साना भाइबहिनीहरू खोलाको किनारमा

भोज खाइरहेका छन्

अनि महाकाल बाबाको डाँडामाथि

एक जोडी सेता परेवाहरू उन्मुक्त

उडिरहेका छन् ।