साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

छन्द-कविता : मेरो मृत्यु र म

छन्द-कविता : मेरो मृत्यु र म

आत्माराम न्यौपाने

गरी सकाम देशमा हिरिक्क भै मरेँ भने
हिमाल फेद तल्तिरै पहाडमा रहन्छु म ।
गरेर कर्म देशमा हपक्क भै मरेँ भने
मधेस फाँट मास्तिरै चुरेतिरै रहन्छु म ।१।

झरेर आँसु नेत्रमा दुखी भई मरेँ भने
कुवा र पोखरी बनी नदी जसै बहन्छु म ।
खुसी भएर प्राण यो मुसुक्क भै मरेँ भने
पलाँस पात पातमा गुराँसमा रहन्छु म ।२।

म खेतमा र टारमा हलोसँगै मरेँ भने
बिहान साँझ बेलुका म गाँसमा रहन्छु म ।
पखेरु भीर पातमा र झारमा मरेँ भने
पराल माच गोठमा र घाँसमा रहन्छु म ।३।

कुबुद्धिले मरेँ भने म राष्ट्रको कपूतझैँ
सुबुद्धिले मरेँ भने सुपुत्र भै सपूतझैँ ।
बनूँ म भूत प्रेत नै जतासुकै मरूँ तर
जसो गरी र जे गरी स्वदेशमै रहूँ तर ।४।

हजार मृत्यु पार हून् र जन्म हून् नयाँ नयाँ ।
प्रदेश सातभित्र नै यतै कतै रहन्छु म ।
निसान चन्द्रसूर्यको छ माथ उच्च होस् जहाँ
त्यहाँ गएर खोज है समीपमै रहन्छु म ।५।

प्रतिक्रिया
Loading...