Chovar Blues Mobile Size


भर्खरै बाँच्न सफल भएका छन्
मेरा एकजोर जिन्दगी जिन्दगीजस्तो
उकालो उक्लिरहेका एकजोर जिन्दगी
सुस्केरा हाल्दै तिर्खाएरै हो जिन्दगीले पिइरहेछन्
एकजोर आँखाबाट बगेका ती गरिबीहरू ।

देश भत्काउँदा माटोमा भेटिनु पर्थ्यो
शहीदका आहुतिका टाउकाहरू
पृथ्वीका एकजोर हातहरू
एकचौथाई अपयव चुँडिदा आमाको
सुनिनुपर्थ्यो छातीमा अँगालेर रोइरहेकी
लिपुलेक
लिम्पियाधुरा
र महाकालीहरूका हाँक र क्रन्दनहरू
भेटिनु पर्थ्यो एउटा सत्यनिष्ठा हली
जसले अघाएका एकजोर गोरु नारेर जोतिरहेका
तराई, पहाड र हिमालहरू
अझै भेटिनु पर्थ्यो
मजेत्रो च्यातिएझैँ च्यातिएका नेपालका सीमाहरू
दशरथ चन्द
धर्मभक्त माथेमा
गंगालाल श्रेष्ठ
र शुक्रराज शास्त्रीहरूसँगै हराएका शहीदहरू
अझै खोजिनु पर्थ्यो
आफ्नै देशमा हराएका मदन भण्डारीहरू
लेखिनु पर्थ्यो राष्ट्रवादका कविताहरू
शहीदका रगतका कलमहरूले
अझै उत्खनन् गरिनु पर्थ्यो पुरिएका ती सपनाहरू
गाइनु पर्थ्यो अझै जीवन शर्माका गीतहरू ।

तर अहँ,
ब्युँझदै एकजोर आँखाले देखेका सपनाहरू
बालुवाले बनेका दरबारझैँ ढले गर्ल्याम्मै यसरी
जसरी ढले मेरो देशको धरहरा तीन टुक्रा भएर
तर होंचो भएन र ढलेन कहिल्यै
मेरो सगरमाथाको त्यो अग्लो स्वाभिमान
ननिभ्यो कहिल्यै मभित्रको देशप्रेमको दियो
नहरायो कहिल्यै मभित्र देश सिउने सियो
अझै म बाँचिरहेछु यसरी
जसरी बाँचिरहन्छन् निसासिएर
मुढाले थिचिएका पहेंला निरीह दूबोहरू ।

ए कानहरू हो !
किन सुन्दैनौ हँ ?
चिहानबाट आएका शहीदहरूका आवाजहरू
ए आँखाहरू हो !
किन देख्दैनौ हँ ?
शहीदहरूका छातीका आलो घाउबाट
बगेका रगतका अरुण र कर्णालीहरू
ए बरफहरू हो !
किन पोल्दैन हँ ?
तिमीहरूका छाती
मेरोझैं स्वाभिमानको आगोले ?

उन्मुक्त नभएरै हो स्वतन्त्रताको पर्खालहरूमा
हिर्काइरहेछु म आक्रोशका हतोडाहरूले
हिजो पनि रेटिएकै हुन् न्यायका घाँटीहरू
आज मेरो पालो रेटिने
तर रेटिने छैनन् कहिल्यै मभित्रको देशप्रेम
निभाइने छ घाम झ्याप्पै म निभेपछि
तर निभ्ने छैनन्
कहिल्यै मभित्रको देशप्रेमको दियो

साँच्चै भनुँ,
आफ्नै देशमाथिको खुला आकाश पनि
मलाई पिँजडाजस्तै लाग्छ
पिँजडाभित्रको
स्वतन्त्रता पनि के को स्वतन्त्रता हो र ?

देश भत्काउँदा माटोमा भेटिनु पर्थ्यो
शहीदका आहुतिका टाउकाहरू