विराज पौडेल

अरूले भुईँको कमिला देखे
मैले त हात्ती लडाउने सामर्थ्य पाएँ
अरूले एक सर्को बतास देखे
मैले जीवनदायी वायु पाएँ ।

साना पाइलामा टाढा गन्तव्य बोकेको
यात्री हुँ म
सानो पिलपिलले जगत् जगमगाउन बलेको
दीप हुँ म
हजारौँ तारा अविजित, सूर्य र विलक्षण जूनको प्रतिद्वन्द्वी
निर्भीक जुनकिरी हुँ म ।

गएको उज्यालो दिनपछि सूर्य थाक्यो होला
तर म थाकिनँ
त्यो सूर्यको तापले भागे जूनतारा
तर म भागिनँ ।

म त विशाल फौजअघिको
अन्तिम सिपाही हुँ
म त असीमित सागरअघिको
एक थोपा पानी हुँ
म निस्पट्ट अन्धकारअघिको
एक किरण ज्योति हुँ
अपार ब्रह्माण्डअघिको
एक जुनकिरी हुँ म ।

सुन्दरताको घमण्ड चढेर घुम्टो ओढ्यो जूनले
मैले ओढिनँ
अधीर रवि चुहियो झिसमिसेमै क्षितिजबाट
तर अन्धकार दिनमा पनि
मैले धैर्य तोडिनँ ।

म त अटल हिमपर्वत पगाल्न लागेको
एक झिल्को अनल हुँ
म त मिनेट हुँदै घण्टा बन्न दौडिरहेको
एक सेकेन्ड हुँ
यो रात चिर्न समयसँगै उडिरहेको
जुनकिरी हुँ म ।

अरूले यो रातमा चिरायु अन्धकार देखे
मैले देखिनँ
अरूले मनमा असम्भावनाको विरह लेखे
मैले लेखिनँ ।

म त ‘निराशा’मा पनि आशा भेट्टाउने
आशावादी हुँ
म त ‘शून्य’लाई पनि ‘एक’को बाल्यकाल मान्ने
पृथक्तावादी हुँ
रातमा पनि भोलिको बिहान देख्ने
भोलिवादी जुनकिरी हुँ म ।