
शिव घतानी
आमा
यी आखाँले देखिने सबै चिज नै त दुःख रहेछ
सुख त उही बादलजस्तो पो रहेछ
छातीमा पीडाको घामझैँ चर्किए पनि
खोइ कुनबेला उडेर आई छोपिँदो रहेछ
ठोकिएर उही परेलीमा पोखिँदो रहेछ
आमा
आज जिन्दगी अँधेरो छ भनेर
किन चिन्ता गर्नुहुन्छ ?
औँसीमा अँधेरो नै त हुन्छ
औँसीलाई नखेपी कसरी
जून मुस्कुराउँदै
पूर्णिमा आउँछ र आमा
उहीँ दुःख अनि सुख !!
आमा
बा एउटा गमलामा रगत रोपेर
बसाइँ मात्र सर्नुभएको हो
ताकी आफैँ हुर्कियोस् भनेर
हामी पनि त त्यहाँ एक दिन जानु नै छ
बस्.. ! ढिलो या छिटो
थाहा छ आमा मलाई
आमा
मलको धोक्रामाथि कोक्रो बोकेर
कमाएका छाकहरू
तारा खसेझैँ देखिने छानाहरूबाट
हावा हुरी पानी अनि तुसारा छिरेको रातहरू
भुरा पढाउन बेचिएका नारीका चुराहरू
मूल भाँचिएका हाँगाझैँ भएका टुहुराहरू
रमितेमा रमाइरहेका दुनियाँसँग जुधेर
हामीलाई ब्रह्माण्ड नै पढाउने अदम्य आँटहरू
होइन र !
टाल्दा टाल्दै सकिएका चोलीका शरीरहरू
हामीलाई पेट भराउन
आफू शोक बोकेर हामीलाई सोख दिने आत्माहरू
सन्तानका खुसीका लागि आफू पलपल मारी
निःस्वार्थ गरिएको माया र जिम्मेवारी
बोकेर पीरको चाङ
बनेर भर्याङ
आकाश छुवाउने
सन्ततिलाई
हिजो आभावमा खाली पेट हुदा
आज खालीपेटमा नै दवाई खाइरहेछौ
तिमीले जस्तो रोप्यौ हामी त्यस्तै नै छौँ
आमा
केही दिन सक्दिनँ
बस् !
खाली पेटमा खाने दवाई टुटाउन
टालटुल चोली फेर्न र
आफ्ना रहर मासेर हाम्रा लागि बगाएका रगतको
गुण तिर्न नसकुँला
तर
यति गर्न सकूँ
हरेक तिम्रो पाइला धर्तीमा टेक्दा
सूर्यले पनि गर्व गरोस् ।।
गौरीशंकर गाउँ पालिका दोलखा



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

