रवि सुवेदी

रेसमी मखमली सुवासमा
मोहिनी सरलता उदासमा ।
यामिनी भ्रमर गीत गाउँछे
न्याउली निशिकथा सुनाउँछे ।।१।।

आजबाट कहिल्यै नआउनू

कोइली अब तिमी न गाउनू ।
सम्झना पवन हे! न ल्याउनू
यादकी प्रिय सखी निदाउनू ।।२।।

रात्रिमा कुमुदिनी उदाउँदा
काव्यले मधुर गीत गाउँछ ।
प्यारले छटपटी लगाउँदा
बाँसुरी मुटु सदा चुडाउँछ ।।३।।

सूर्य पूर्वगिरिमा उदाउँदा
लालिमा वदनमा सुहाउँदा ।
खुल्दछन् जब सबै दिशाहरू
सुत्दछन् अनि सबै निशाहरू ।।४।।

प्रेम सप्तकहरू बजाउँदा
माधुरी हृदयमा उदाउँदा ।
स्वप्न जागरण साथ मिल्दछन्
प्रीति पुष्प ढकमक्क फुल्दछन् ।।५।।

रात्रिको स्मरण मात्र शेष भो
यामिनीरस समाप्त भै गयो ।
चन्द्र अस्तगिरिमा लुके अब
प्रेम स्वप्निल सबै छुटे अब ।।६।।

छन्द – रथोद्धता