मलाई कुनै पीर थिएन ।
पत्याउनुहुन्छ ??
हो साच्चै थिएन ,,
किनकि म यही देशमा
केही गर्न सक्छु भन्ने हिम्मत भएको मान्छे
कक्षामा जहिले प्रथम/द्वितीय हुने मान्छे
मलाई के को पीर ,??

लाग्थ्यो
यो देश मजस्तै योद्धाको खोजीमा छ
यो देशका लागि जन्माइएको हो मलाई ,
तर
मैले जति जति पढ्दै गएँ
घरमा ऋण उति उति बढ्दै गयो
मेरो कलममा मसी भरिँदा घरमा अन्न रित्तिन लाग्यो
मेरो बैँस चढ्दै जाँदा बुबाका हातका ठेला बढ्दै गए,
मैले पढ्नका लागि घर छोडेर जाँदा,,
आमाका आँखाले थुप्रै दिन अभावका आँसुहरू बगाए ,,
उता आमाबुबा कमजोर हुँदै जाँदा,
मेरो मनमा पीडाहरू बलिया हुन थाले ,,

कमल पौडेल

मैले मेरो सर्टिफिकेट धितो राखेर जागिर खोज्न थालेँ ,,,
यहाँ त मोटो रकम धितो नराखेसम्म जागिर नपाइने रहेछ ।
मैले मेरा सपना बन्धकी राखेर
बुबाआमाको मुजा परेको अनुहारमा
एक दुई मुजा खुसीको पार्ने सोच बनाएँ ,,
बाको हातको ठेलामा लगाउने मलम किन्ने सोच बनाएँ ,,

धन्यवाद छ सरकार ,,,
तिमीले सर्टिफिकेटको मूल्य तोकेका रहेछौ ,,
सर्टिफिकेट धितो राखेर ऋण दिने व्यवस्था गरेका रहेछौ ।

त्यही मौकाको फाइदा उठाएर
तिनै सर्टिफिकेट धितो राखेर
मैले पासपोर्ट बनाएँ ।