गम्भीर दुवाडी

हृदयले बास खोजेर

नजरले आश रोजेर

कलङ्कले नाश तोडेर

प्रीतिले माथ जोडेर

दुस्मनले साथ छोडेर

ज्ञानीले ज्ञान दिएर

 

तारापुञ्ज सगरमुनि

देवताको शक्ति गुनी

आस्तिकलाई हुने

नास्तिकलाई नहुने

अविच्छिन्न गोरेटाको खोजीमा

सम्झनाको सुमधुर लय

कसैलाई तिरस्कार कसैको जय

पेन्डुलम यी पाइलामा

जीवनको पृष्ठभूमिमा

सर्वश्रेष्ठ प्राणीका आफ्नै वाणी

करेसादेखि फाँटसम्म

छिपेको छ

लिपेको छ

निरीहको चामलबाहेक

बिचौलियाको पिठो बिक्छ

 

घृणाको सवारी हुइँकने

अन्योल गोरेटो जोड्ने

भविष्यको राजमार्ग छ

नजन्मिएको भ्रूण

गर्भको पाठेघरबीचमा

निसास्सिएर अभ्यास गर्दैछ

समयका अवयव सँगसँगै

अघि सर्द‌ैछ बेजोडले

 

ऊ चल्दै गर्दा

घाम ढल्दै गर्दा

गोधूलिको दियो बल्दै गर्दा

ढुस्स तल्लो पेट फुल्छ

चियाउँने जमात उपर

निसङ्कोच लाज डुल्छ

प्रसव पीडापश्चात्

आधा जिउ हलुङ्गो हुन्छ

उसको अफ्नै लिपिमा

उसको बाल ढिपीमा

च्याँ च्याँ गरेर रुँदै

सालनालले मुख पुछ्दै

मुख खोल्छ

आँखा जुधाउँद‌ै

अनुत्तरित जिज्ञासामा

सोध्छ

खोइ त समृद्ध नेपाल

सुखी नेपाली ?

 

लाग्छ यो नव शिशु

नलेखिएको रूपरेखाको

सम्पादक हो कि

कलियुगको मतियार !

उसको आँसुको हतियार

व्यवस्थापन कसरी गरौँ ?

यतिखेर दशगजा जमिनमा

एकातिर सिमानामा

सन्तानको विश्वास

पुर्खाले छोडेका साख

जोगाउला त !

 

 

गजुरी धादिङ्ग