डिम्पल लामा

तिमी एक युग पुरुष, जन्मँदै एक देवता
पुर्खादेखि भावी सन्ततिको जन्मदाता
सङ्घी र वंशीको भाग्य बदल्ने एक भाग्य विधाता
नारीका कर्म र क्रियाहरू आविष्कार गर्ने
रङ्गशालाहरूको कार्यकारी निर्माता

धर्म, संस्कार र रीतिरिवाजको नाममा लाद्छौ
हज्जारौँ अन्याय र दमनका प्रथा
सति प्रथा, कुमारी प्रथा, सौता प्रथा र छाउपडी प्रथा
जाति प्रथा, कमारा कमारी प्रथा, सत्ता र शक्तिका कैयौँ दन्त्यकथा
अबोध, अशक्त, भोका र नाङ्गाहरूलाई
बलि दिएर गुमनाम बनाउँछौ
निर्मलाहरूका करुण क्रन्दनको कथा

धर्मको नशा र प्यालाहरूलाई
मातमा तिमी सधैँ ढक्क र फुल्दछौ निर्धक्क
दुई शब्द पराईको मिठासमा
पलमै मख्ख र लुटाउँछौ सर्वश्व
तिम्रो हरेक सोमरसका घुट्कीहरू सदा पवित्र
हिजोको रङ्गीन साथमा समाएको हातहरूलाई
आज सोध्दछौ ‘कस्तो चरित्र’?

आयुष्मान् बन्न पिलाउँछौ तिम्रो पाउको पानी चोखो
छोड्दैनौ कथित रानीहरूलाई राख्न प्यासी र भोको
तिम्रो स्वर्गको द्वार खोल्न
जीवनसङ्गिनीलाई बनाउँछौ सती
आफ्नो मृत्युपछि पनि पत्नीलाई जिउँदै
खरानी भस्म पार्ने तिमी कति आदर्श पति?

हिजो तिम्रो होसमा कैयौँ सतीहरू भस्म भए
आज तिम्रो बेहोसीमा तिम्रै चेलीहरू निर्लज्ज भए
हिजो जलायौ आफ्नै आमाहरूलाई वनको आग र रापले
आज जलाउँछौ निर्दोष चेलीहरूलाई मनको राग र तापले

तिमी एक सर्वोत्कृष्ट प्राणी,
मर्यादा पुरुष र बाँकी सबै तिम्रा पुतलीहरू
नियालेर हेर र पढ तिम्रो शोक र भोक विलासले
निम्ताएका नारकीय जीवनहरू
अति भयो ! सुन ती चीत्कारहरू र सुधार तिम्रो मति
नत्र हुनेछ तिम्रो विनाश, सर्वनाश र अनन्त क्षति

तिमीले जिउँदै जलाएका
निरीह आत्माहरूको श्रापले
सावित्री र सीताहरूप्रतिको कठोर
क्रिया र विक्षिप्त वचनको पापले
दिव्य द्रौपदीहरूलाई गरेको
क्रूर दमन र अपमानको इतिहासले
नाबालक निर्मलाहरूलाई निष्ठुर
नरभक्षीले झैँ लुटेको अभिशापले

के तिम्रो पापको घडा अझै भरिएको छैन र ?
के तिमीले ग्लानिको श्लाघामा पिरोलिने बेला भएको छैन र ?