तपाईँले देख्नु भएन
कहिले बालुवाटार त कहिले सिंहदरबार,
कहिले बानेश्वर अनि कहिले शीतलनिवास
सर्वाङ्ग नाङ्गै भएर..
निधार र च्यापुका बीचमा गुप्ताङ्ग बोकेर
राक्षसजस्तै दगुरिरहेका..
सुटबुट लगाएका नाङ्गा मान्छेहरू !
लास पोलेको धुवाँले भरिएको आकाशमुनि
तपाईँ चिच्याउनुस् न..अझ चिच्याउनुस्
काँचो मासु पोलेको दुर्गन्धभित्र तपाईँ कराउनुस्
स्वास रोकियो स्वास चाहियो भनेर छाती पिट्नुस्
कसले सुन्छ तपाईँको चीत्कार यहाँ ??
आफू नाङ्गो छु भन्ने भेउसमेत नपाएर
लामा लामा अहङ्कारका नङ्ग्रा र लोभका दाह्रा देखाएर
तपाईँको छातीमाथि टेकेर हिँड्छन्
सुटबुट लगाएका नाङ्गा मान्छेहरू !
हृदय निचोरिएर आँखामा पुगेको वीभत्स पीडालाई
पख्नुस् ! तपाईँले रोक्नुपर्नेछ, कति बगाउनुहुन्छ ?
तपाईँले असीम दुःखको लाभाले भरिएको आँखाले
वीभत्सतापूर्वक अझै हेर्नुपर्नेछ..नाङ्गो नाच !
हातमा लामालामा निर्लज्जताको भाला बोकेर..
अझै नाच्ने छन् ताण्डव नाच..
सुटबुट लगाएका नाङ्गा मान्छेहरू !
काठमाडौँ
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।