निष्ठापूर्ण शक्तिको, ‘बिम्ब’को खामो
राजनीति शास्त्रको ज्ञान मन जो पायो
उचाल्यो पछाऱ्यो, रज गज कमायो
नाम, यश, कीर्ति झपक्क फुलायो
वासना चलायो, गाउँ गल्ली बसायो
निष्ठाको राजनीति भक्तिले चलायो।
फुलायो, फलायो, अजीर्ण जीव पलायो
दन्त हर्ष देखायो, आफ्नो पराया सब छुट्यायो।
सत्ता उन्माद यसरी उर्ल्यायो
वर्षाको खहरेझैँ उधुम मचायो
उल्यायो, बिल्यायो, चाकडी-चाप्लुसी लुँड्यायो,
मनवाञ्छित फल पायो
डरर डकार्यो, आदर्शको फलाहार बनायो
मुसुक्क मुस्कायो, निष्ठाको व्यवहार देखायो।
आलो काँचो, फकायो फुलायो ततायो पकायो
रोजगारले युक्त, लठ्ठक बेरोजगार बनायो
नश-नाता, छरछिमेक मख्ख बनायो
विकासै विकासको नारा सारा घन्कायो
नाराले ढकमक्क बनायो, ताली पिटायो
युगौँयुगको दासत्व, नयाँ दर्शनमा मिसायो।
सम्पूर्णताले पूर्ण, पसल एक बनायो
नगद उधारो सब चलायो, भोट ‘एक’को बन्धन बनायो
राजनीति कठै अस्त्रनीतिमा उदायो
आलिसान महलमा मस्त निदायो
निष्ठापूर्ण शक्तिको ‘बिम्ब’को खामो
राजनीतिशास्त्रको ज्ञान मन जो पायो।
नीति र नैतिकता सिकायो, आफैँसँग हरायो
आसेपासे, छोराछोरी धनवान् बनायो
आदर्शको डङ्का पिटायो, बस्ती बस्तीमा हौवा फिँजायो
ओहो राजनीतिले, कस्तो लाजनीति देखायो !
सु. न. पा-१, बिरुवा
भक्तपुर
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।