नारायण खनाल

प्रिय ! नाम्लो !

सदैव

मेरै थाप्लामा टाँसिएर

सुटुक्क

मेरै निधारमा बहने

पसिनाका तहरा पिई

प्यास मेटाइरहने

तेरो रहर

अब

रहर मात्रै हुने भो

किनकि

तेरै पौरखले पालिने

मेरो पेट

बन्दाबन्दीले

रित्तै छ

तेरै धर्मले

धड्किने मुटुले

धड्कन सक्न छोड्दै छ।

 

हो !

तँलाई हेरेर मात्र पनि

धेरै दिन अघाएँ

आँसु झारेर

तेरो र मेरो प्यास मेटाउने

कोसिस गरेँ

आँखाबाट खसेको

एक थोपा आँसु पनि

पापी बालुवाले सोसिदियो

अब मेरो

जिन्दगी पलाउने छाँट

छैन नाम्लो !

हेर्  त

सधैँ त सकिने रहेनछ

पीडाले अघाएर

सासको त्यान्द्रो जोगाउन ।

 

त्यसैले

प्रिय नाम्लो !

तँसँग मेरो

एउटामात्र बिन्ती छ

भोकले

शोक निम्त्यायो भने पनि

तँ

मेरा हात छोडेर

टाढा

कतै नजानू है!

किनकि

मृत्युपछि

मलाई घाटसम्म जान

बाँधिन पनि त

तँ नै चाहिन्छ

नत्र

मेरो लास बाँध्ने डोरी किन्दा

राज्यकोष खर्च  हुन्छ

भोकाहरूले पाउने राहतमा

कमी आउँछ

बिदेसिएकाको उद्दारमा गाह्रो पर्छ

 

दुःखीको पेट

भोकै पार्न

सन्तानसँग

आमाको बिछोड पार्न

न बाँच्नु छ

न मर्नु छ।

 

प्रिय नाम्लो !

त्यसैले

म भोकले

मरिहाले पनि

तँ मेरो हात छोडेर

कतै नजानू है!

 

घाटमा जाँदा

बाँधिन पनि त

आखिर तँ नै चाहिन्छ

प्रिय ! नाम्लो

आखिर तँ नै चाहिन्छ ।

 

मालारानी ,अर्घाखाँची