शिवराज कलौनी

धारे, भुत्ते, लिँडे, लुतुरे हतियारहरू बर्सिरहँदासम्म

घाँटी रेटी-रेटी गिँड बनेर सकिउन्जेलसम्म

पीडाका आँसुले आकलझुकल पारिरहे पनि

ऐया दुख्यो भनेर पनि सङ्केत नगर्ने तँ

आफूलाई खुकुरी भनेर नसोच्

किनकि तँ अचानो होस्

 

सभामै द्रौपदीको चीरहरण भए पनि मूकदर्शक रहँदासम्म

रोदनभित्रको हाँसो लुकाएर चोटहरू सहिरहन्जेलसम्म

अन्यायमा विद्रोह गर्न नसकेर जयकारको हवनकुण्डमा होमिइरहन्जेलसम्म

 

ऐया दुख्यो भनेर पनि सङ्केत नगर्ने तँ

आफूलाई खुकुरी भनेर नसोच्

किनकि तँ अचानो होस्

 

दुःखपछि सुख आउला भनेर पर्खी बसेसरि

भरिएको जोसिलो जवानीमा पनि आस मरेसरि

दृष्टिको पुञ्ज विलीन भएसरि जिउँदो लास बनेर

ऐया दुख्यो भनेर पनि सङ्केत नगर्ने तँ

आफूलाई खुकुरी भनेर नसोच्

किनकि तँ अचानो होस्

 

आमाको धोती बेचेर पेटीकोटमा सीमित परिरहँदा

बुवाको कछाड बेचेर रक्सी खाँदै मातिइरहँदा

स्वाभिमान लिलाम गरेर शिर झुकाउँदै पश्चात्ताप गर्दा

ऐया दुख्यो भनेर पनि सङ्केत नगर्ने तँ

आफूलाई खुकुरी भनेर नसोच्

किनकि तँ अचानो होस्

 

विम्ब विम्बमा प्रतिविम्बको नौलो आयाम नदेख्दासम्म

पानीको स्वाद कफीभित्र खोज्ने बानी नछुटाउँदासम्म

पीडाको बाँसुरीले मनको यथार्थ राग नचिन्दासम्म

ऐया दुख्यो भनेर पनि सङ्केत नगर्ने तँ

आफूलाई खुकुरी भनेर नसोच्

किनकि तँ अचानो होस्

 

भि न पा ३ कञ्चनपुर