कफी पिउन अक्सर

क्याफे
एक्लै जाने गर्छु यसकारण कि
कफीको घुट्कीसँगै
मन भुलाउने
आफ्नै अन्तर्मनसँग
बात मार्ने बहाना जो पाइन्छ
अनि

अर्पण

कफीसँगै आउने
नोस्टाल्जिया वरपर
एकनास मनलाई अड्याएर
रमाउनुको छुट्टै आनन्द जो छ ..
हो
प्रायः म एक्लै
जाने गर्छु
घाम ढल्किन लाग्दाको दृष्य हेर्न
मान्छेको चहलपहल आवतजावत
भिडभाड हेर्दै क्याफेमा
अमेरिकानो पिउन छुट्टै
मज्जा त हुन्छ ..
तर,
इलामको मुना, टोकला चिया
गुल्मीको दानेदार
बोटमै टिपिएको
किटलीमा
बुलबुल उमालेर
आमाको हातले दिएको
जस्तै बास्नादार फ़्लेवर
त,
कहाँ हुन्थ्यो र ?
तैपनि क्याफेमा
एक्लै बसेर पिउँदा
कफीसँगका मिठा सम्झनाहरू
धेरै आइदिने रहेछन्
कहिलेकाहीँ गल्लीछेउ
बागबजारको सानो
त्यो चिया पसल याद आउँछ
जहाँ साउने झरी नियाल्दै
केही साथीहरू जम्मा भै
होहल्ला गर्दै कालो कफी पिएको
सूर्य लाइटको
एक एक पफ पालैपालो तान्दै
धुवाँको गोलो आकृति बनाउने
होडबाजी गर्दा
आफू सधैँ पछि परेको
त्यही नजिकै पारिपट्टि
वर्षे झरीले
जमाएको पोखरीमा केटाकेटी
कागजको डुङ्गा बनाएर खेल्दै गरेको
दृष्य अझै पनि
आलै भएर आउँछ
त्यही एफएममा
अलि हैदरको पुरानी जिन्स और गिटार
मोहल्ले कि वो छत और मेरे यार
बजिरहँदा टेबल
बजाई ताल र सुर
मिलाएझैँ गरी गुनुगुनाएको
पनि त
हिजोअस्ति झैँ लाग्छ ..
यस्तै यस्तै सम्झनाहरू
अनायसै झझल्को बनी आइदिन्छन्
जब
कफीको कपसँग
हृदय आफ्नो अडिएको हुन्छ
त्यसैले त क्याफे
प्रायः
एक्लै जान रुचाउँछु
अनि
कफीको प्रत्येक घुट्कीसँगै
आउने
अतीतका ती झल्याकझुलुकलाई
बेजोडले स्वागत गर्न हतारिन्छु ।