सबिन पोखरेल

सुनिबस्ने एउटा कन्दरामा
लुकिबस्ने सबैका आँखाअगाडि
अनि मुस्कान छाउँछ,
लतपतिएका सपना,
अन्धकार कसैको मुटुमा
हराउने आफैँमा,
कराउने आफैँ
एउटा किरण छैन
अनि सुन्छु कति उज्यालो मेरो मन छ ।

हुँदो हो पक्का हुँदो हो,
हरेकलाई कहीँ न कहीँ हुँदो हो,
लुकाएकै होलान् खै
म सबैमा आफू देख्छु
लाग्छ,
हामी सबैमा एउटै मुस्कान छ,
उनीहरूका नि सपना यतै लत्रेका होलान्
अनि म पनि मान्छु कति उज्यालो तिनीहरूको मन छ ।

आफ्नै बिरानाझैँ गर्ने, हक लाउने र हडप्ने
म निःशब्द भई टोलाउँदा
चुप बनाएरै जड हट्ने
सम्झिने कि बिर्सिने
यो थाहा नपाउँदै फेरि लुटिनु छ,
अनि म संसार अलग देख्छु
बेगर कुनै खुसीको,
एक्लोपन एउटा खुसी हो
निडर म कहिल्यै छैन
अनि कति अत्याससहित उज्यालो मेरो कलाकारिता छ ।

रुँदो हो पक्का रुँदो
सबैको मन सम्झेरै रुँदो हो,
बेजोड सम्हालिएका छन्
म ती एक–एक आँसुमा आफ्नो आँसु मिसाउँछु
लाग्छ,
यो सागर कम छ,
काँप्दो हो शरीर,
गल्दो हो तन
चिच्याउँदा हुन् मनमनै,
सुस्ताउँदा हुन् मनसँगै
जगल्टेको होला भुमरी
अनि छाती फुलाउँदै सोझोपनमा बाँचेको उज्यालो तिनीहरूको मुस्कान छ ।

मेरो बोली बिकेन,
आमा लुक्न बाध्य भइन्
मेरा कोमल हात रहेनन्,
म बालकमै वयस्क भएँ
लाग्छ बोली नफुटेको भए म बक्थिनँ केही
सारा डराउन्नँ थे,
बिचराको पात्र हुन्न थेँ
यसमा करोडको आनन्द छ,
बिर्सिनलाई सधैँ आलो भो,
चुप रहँदा नै यो इज्जत कालो भो
दाग बस्यो धपक्कै
तर नि यो दुनियाँ अझै यज्यालो छ ।

हेर्दा हुन सबैले हेर्दा हुन्
म एक पात्र भएँ भनी हेर्दा हुन्,
चड्किएको होला आधा शरीर
म सबै पात्र मिसाउँदा नि
यी सारा स्त्रीभित्र गुम्सिएका भावना कम छ,
जाग्दो हो आवाज अनि बदलिँदो हो समाज
आमूल परिवर्तन बोली हो,
सपना सधैँ भोलिको
पर्सि हामी फेरि लुटिन्छौँ
अनि दोष हामीमै देखाएर उज्यालो यो नर्क छ ।