सुरेन्द्र रजौरा

भविष्यको पर्यायवाची शब्द सङ्घर्ष हो

सङ्घर्ष चट्टानजस्तै हुन्छ

सङ्घर्ष आगोजस्तै हुन्छ

कठोर हुन्छ

कठिन हुन्छ

तर पनि सङ्घर्षको फल मिठो हुन्छ

आनन्ददायी हुन्छ

जीवन सार्थक बनाउन

वर्तमान समयमा सङ्घर्ष गर्नुपर्छ

भोलिका लागि सिञ्चित गर्नुपर्छ

अनि मात्र भविष्य उज्ज्वल हुन्छ

सङ्घर्षबिनाको भविष्य भ्रम हुन्छ

क्षणिक हुन्छ

दुःखको सागर बन्छ

निराशाको वर्षा हुन्छ

जुन वर्षाले जीवनमा हरियाली होइन

बाढीपहिराले जस्तै

तहस नहस बनाइदिन्छ

उजाड बनाइदिन्छ ।

रूखो बनाइदिन्छ

अर्थहीन बनाइदिन्छ

सबैथोक पाए पनि

मूल्यहीन बनाइदिन्छ

एउटा भ्रमको खेती बन्छ

जुन खेतीमा वास्तविकता हुँदैन

पसिनाको मिसावट हुँदैन

हातमा ठेलाको सारोपना हुँदैन

त्यो त केवल सपनाको महल हुन्छ

जुन महल बालुवाले बनेको हुन्छ

एक झरी वर्षा थाम्न सक्तैन

हुरिबतास थाम्न सक्तैन

सूक्ष्म स्पर्शले नै ढल्छ।

त्यस्तो महल के काम

सपनाको महल त

सङ्घर्षले बनाउनुपर्छ

मेहनतको पसिनाको हुनपर्छ

छलकपटको महल

क्षणिक हुन्छ

छिनमै ढल्छ

अनि

छिनमै खरानी हुन्छ

त्यो दिगो हुँदैन

महल सङ्घर्षको बनाउनुपर्छ

जुन महल

भोलि भावी सन्ततिका लागि

बलियो आधार बनोस्

गौरवको विषय बनोस्

एउटा अविस्मरणीय इतिहास बनोस्

जुन इतिहास हाम्रा सन्ततिले

शिर उच्च पारेर हाम्रा गाथा गाउन।।