लोकसेवा उत्तीर्ण गर्नुभन्दा,
भेलमा जंँघार तर्नुभन्दा
अस्पतालमा बेड भेट्टाउन गाह्रो भएको यो घडीमा;
खाली खुट्टा काँडामाथि टेक्नुभन्दा,
बर्खा मासमा दुवालो छेक्नुभन्दा
एक सिलिन्डर अक्सिजन पाउन गाह्रो भएको यो घडीमा
घरभित्रै बसिरऊँ
आन्दोलन गरिरहेछ – भोक पीडित यो पेट,
बनीबुतो गर्न जाऊँ
डर लाग्छ – हत्यारा कोरोनासँग होला भनी जम्काभेट;

साथीभाइ भेट्न नपाए

अनाम उपेक्षित                        

छटपटीले मनसिक रोग ब्याउला भन्ने पीर,
कोही भेट्न आए
कोरोना कोसेली ल्याउला भन्ने पीर;
कतै कोही अचेत अवस्थामा बेवारिसे भेटिए
“बोकेर तुरुन्त अस्पताल लैजा ।”
भन्ने दयालु मनको आदेश मान्न सकिने अवस्था छैन,
घर छोडेर बेखबर भएको छोरा टुप्लुक्क आइपुगे
हर्षाश्रु झार्दै अँगालो मार्दै
चाहेर पनि कुरा गर्न सकिँदैन ।
                        × × ×
घर फर्किने दिन कुर्दाकुर्दै
परदेशमै केश फुलेर साइँलाको टाउको
हिउँ परेको डाँडाजस्तो सेताम्मे हुने सम्भावना भयो,
धेरै वर्षपछि फर्केर आउँदा
साइँलाले “लाम्दिजा* जाने बाटो कुन हो ?” भनेर
दोबाटोमा कसैसँग सोध्न सक्ने सम्भावना बढेर गयो ।
                        × × ×
यी सारा कुराहरू
बर्सौँ पहिले देखेको
खराब सपनाजस्तो बन्ने दिन कहिले आउला ?
कुनै समयमा माक्सले नाकमुख छोपेर
मोहोला लगाइएको बस्तुजस्तै बनेर
हिँडडुल गर्नुपर्थ्यो भन्ने दिन कहिले आउला ?
                ०००     ०००     ०००
                                          खोटाङ