Chovar Blues Mobile Size

शरदको ठण्डी हावा भए पनि
आइरहेछ तिमीतिर
आरामदायी न्यानोपन

भावनाका उल्झनहरू
रूखका खैरा र सुन्तले हाँगाजस्तैै
खात लगाएर थुप्रिएका छन् रूखै मुन्तिर

तिम्रो श्वासप्रश्वास
मेरो शरीरको छालामा परेको
घामको किरणझैं
सिलसिलाबद्ध रूपमा चमक ल्याउँदै
प्रकृतिलाई अझ निखार्न मद्दत गरिरहेछ

तिम्रैै अँगालोमा फर्की आऊ भनी बोलाउँदै
ऋतु परिवर्तन भएको छ
सम्भावनाहरू देखाउँदै

माया फैलिइरहेछ चारैतिर
झरिरहेका पातहरू सँगसँगै तैरिरहेछ
नयाँ वसन्तलाई स्वागत गर्दै

माया पनि त परिवर्तन हुनसक्छ नि!

२.
मेरो पहिलो पाठक

मैले जे लेखे पनि
त्यसभित्र पाउँछिन उनी आफूलाई

सोधेकी छन् आज पनि,
किन मलाई त्यसरी प्रस्तुत गरेको कवितामा?
के म हिउँझैँ गोरी छु र?
कि म ठण्डी छु हिउँझैं?
भन किन आज मलाई हिउँको विम्ब दिएको?

कविता लेखूँ कि गीत
कथा लेखूँ कि गजल
सुख छैन मलाई!
अहँ
पटक्कै सुख छैन मलाई
किनकि
मेरो पहिलो पाठक नै उनी।

हो
म कथा उनकै लेख्छु
कवितामा उनैलाई दिन्छु अनेक विम्ब

मुक्तकमा उनकै प्रशंसा गर्छु हरेक पटक
र गीत उनकै गुनगुनाउँछु सधैंभरि

थाकिसकेको छु म
आफैँसँग प्रश्नहरू गर्दै

म के लेखुँ?
यथार्थ वा कल्पना?
यथार्थमा थोरै कल्पना मिसाउँ ?
कि धेरै कल्पनामा थोरै यथार्थ भनुँ?

म सम्झाउन सकिरहेको छैन आफैँलाई
कि पाठक त आखिर पाठक नै हुन् नि!

नखिपोट, ललितपुर-१४