विद्या सापकोटा


रुँदैरुँदै छोडेर आएको हुँ
त्यो सुदूर गाउँ
पहिलोपल्ट स्वास फेरेको बतास
उत्तिसका टिङ्गरा रुख
बाँसको ठूलो झ्याङ्ग
छङ्गछङ्ग बगिजाने साउने खोलो
ज्यानको बाजी माग्ने तिदुँका फल
चिप्लेटी खेल्दाखेल्दैको खरबारी

आँखाले नभ्याउने खेतबारी ।।

बाँच्नुको मजबुरीमा
बिर्सिएर सबैसबै
किन्दै आएको हुँ

एक मुठा साग
आधा किलो आलु
एक पोका नुन
आधा पाउ जिरा
एक छटक मेथी

आधी बोरासम्म चामल ।।

भलै थपिइरह्यो–
सित्तैको गनगन र भाडादर
तर मिलिरह्यो कोठा,
दिइरह्यो साइकलवालाले सस्तोमस्तो
–स्याउ, अङ्गुर, केरा, सुन्तला …..
तब सम्झनै परेन,
दूर गाउँको त्यो सानो घर
जति खोजे पनि नसकिने
बादँरपेटी,भुईँकाफल, खनाया, अम्बाहरू….. ।।

अनि त
सम्झेर पनि
सम्झिनँ– त्यो धुले मैदान ती बाल दौतरी
हिडिनँ – छोडेर आएको त्यो बाटो
रोइनँ सम्झी सम्झी
हाँगा–हाँगा, पातपातमा लेखेर आएका उनका–आफ्ना नाम ।।

हो, बिर्सिदिन्छु भनेरै बिर्सिदिएँ मैले
उन्मुक्त विहानका साक्षी –ती चरा–बचेरा
पहाडका यौवन– ती रङ्गीन वनफूल
ऐँसेलु–काफल
हरिया जङ्गल र सङ्ला नदीहरू
…………
सँगसँगै भुलिगएँ–
ती ग्रामीण बाजा र मारुनी धुन
चाडपर्व ,मेला र मातक नाचहरू
बिर्सिएँ
बाबाको अपनत्व दिलाउने –चिउरी,तामा,तरुल
आमाको हात बास आउने –मस्यौरा,चाना,गुन्द्रक

जिन्दगीकै अनुपम सुगन्ध चखाउने– त्यो पहिलो प्रेमपत्र ।।

भुल्दाभुल्दै
आफैँलाई भुलिसकेपछि
सम्झिरहन्छु अचेल,
’प्रोजेक्ट वर्क’ भन्दै रातदिन कहाँ जाँदो हो छोरो ?
’कम्बाइन स्टडी’ भनी भनी कुन्नि कता हराउँदी हो छोरी ?
खै किन हुँदैन आजकल हिक्क–हिक्क र लाग्दैन बाडुल्ली ?
साँच्ची!
“यसपालि पनि आउँदैनौ र बा?“
भनीकन किन पो आउन छोडेको हो चिठी ??
००००००

हालः सलालाह, ओमन