कविता : बाँच्न चाहन्छु

देविका मङ्ग्रान्ती राई (सिलिगुडी)

नभुल्नू है मलाई

म बाँच्न चाहन्छु

मेरो बचाँइमा नै तिमी अल्झिएका छौ

तिम्रो अस्तित्व ममा नै छ

कारण म संस्कृति हुँ

यसैले बाँच्न चाहन्छु

तर कसरी र कहाँ बचाउँछौ ?

के म बाँच्न सक्छु ?

फूलको कोपिलामा ? कि काँडामा ?

म बाँच्न चाहन्छु कोक्रामा

जहाँ म सुतेथेँ शैशवकालमा

बाँच्न चाहन्छु मर्चुङ्गमा र मादलको खरीमा,

हजुरबाको भात गाउँले टोपीमा

कि जुजुबोज्यूको

चन्द्रहार, ढुङ्ग्री-मुङ्ग्री र बुलाकीमा

बाँच्न चाहन्छु सारङ्गीका धुनमा

मारुनी, सोरठी, जुटके नृत्यहरूमा

लोकदोहोरी, लोकगीत, गाउँखाने कथा

चौबन्दीका तुनामा, पटुकी र लाछामा

बाँच्न चाहन्छु ताँबाका गाग्री

चिम्टेले लिपेका बाँसको घरमा

सुनारले बनाएका नौगेढी

चाँदीका कल्ली र शिरफूलमा

बाँच्न चाहन्छौ पुस्तकमा

बाँच्न चाहन्छु कथा, कविता र लेखहरूमा ।

न सजाऊ मलाई म्युजियममा

त्यहाँ त मरेका मात्र पाइन्छन्

म मर्दिनँ, म बाँच्न चाहन्छु

कारण मेरो बचाइ तिमी हौ

मेरो अनुपस्थितिमा तिमी शून्य छौ

बाँच्न चाहन्छु जुजुका कटुवामा

डोको, फरुवा, कुटे र हाते काँटामा

बाँच्न चाहन्छु बर्साको प्रथम थोपामा

हिउँदका जमिएका बरफमा

विश्वका धरोहर दार्जीलिङ्गे रेलमा

बाँच्न चाहन्छौ भाइटीकाका सेलरोटी

ओखर, फूलमाला, रङ्गविरङ्गी टीकाहरूमा

चेलीको खुट्टा ढोग्ने चलनमा

छोरी ज्वाइँको गोडा धुने चलनमा

जति नै वैज्ञानिक कारणहरू भए तापनि

कान्छा-कान्छी, साइँली-माइँलीका

मिठा मायाका सम्बोधनहरूमा

कुलदेवता, चुल्हा ढुङ्गा

चोरी बिहे, मागी बिहे

चोरी दण्ड, ढोग भेट, जार काट्ने

सबै सबैमा बाँच्न चाहन्छु

बिहेको जग्गे, दुरन फकाउर्नेमा

मृत्युमा कोरा बस्नु, परालमा सुत्नुमा

ढुङ्गाको सिरानी लाउनु र श्राद्धकार्यमा

प्रत्येक प्रत्येक रीति थितिहरूमा

बाँच्न चाहन्छु ।

खोला, नाला, धारा र सिमहरूमा

अनि, अनि

बाँच्न चाहन्छु फेरि पनि पहाड

पर्वत वनपाखाका प्रत्येक कुनामा

संस्कृतिमा धरोहर पुस्तकहरूमा

भाबी सन्ततिले पन्ना-पन्ना पल्टाएर

पढ्नु, बुझ्न, मनन गरून्

अनि बँचाउन मलाई माया गरेर

कारण म तिमीहरूमै

अजर र अमर भई बाँच्न चाहन्छु

यसैले पुस्तकका प्रत्येक पृष्ठहरूमा

बाँचिरहन चाहन्छु, बाँचिरहन चाहन्छु ।