श्यामु लम्साल (म्यान्मा)

कविता : आमा

हरपल
हरक्षण
तिम्रो अनुयायीमा
तिम्रो खुसीको लागि
निष्ठावान् भएर म
आजीवन तिम्रो सेवा गर्न खोज्छु
र पनि
तिम्रो ममताको गुन
थोरै मात्रामा पनि
चुकाउन नसकिने मेरो बाध्यता
तिम्रो दूधको भार
मेरो मनमा मेरो नजरमा जमेको छ ।

आमा ! तिमीले
आँखाको अश्रुधारा विलीन गराउँदै
त्याग परित्यागको फल फलाउँदै
सन्तानको खुसीको लागि
आफ्नो खुसी मेटाउन पनि
कुनै सङ्कोच नमान्ने
तिम्रो अपार भावनाको
भावत्वलाई साष्टाङ्ग दण्डवत गरे पनि
तिम्रो भावत्व बुझ्न नसकिने मेरो बाध्यता
ममा न कुनै शब्द छ
न त कुनै वस्तु नै
तिम्रो कोमल ह्रृदयको अघि
म अनपढ छु
म अन्जान छु

आमा !
जे जति देन छ
त्यो त तिम्रो करुणाको फल हो
त्यो नि म स्वार्थी हुन पुग्छु
तिमीलाई क्षण क्षण भुल्छु
लौकिक सुखलाई अपनाउछु
लोकसँग रमेको हुन्छु
तर
तिम्रो मन भने
ममै तल्लीन छ
ममै आकर्षित छ
त्यो करुणा भावनाको करुणावतार तिमीलाई
म कसरी कदर गरूँ ?
कुनै उपाय छ भने
म स्वार्थी तिम्रो सन्तानलाई
देखाइदेउन् आमा ।