साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविता‍- तिम्री आमा र भूगोल

 

देख्यौ ! तिमीलाई भूगोल देखाउनेले नै भूगोल छाडेर गए

अब जति चाहिन्छ राख तिम्रो भागमा, यो भूगोल

उनले पूरा गर्न सकिनन् होला तिम्रा माग

सायद थाकिन् होला तिम्रा गुनासा बोक्दा बोक्दा

अब उनी बोल्दिनन्

अब उनी थाक्दिनन्

तिमीले आमा भनेर बोलाऊ

अब सुन्दिनन्

अहँ, अब उनी रुँदिनन्

लपेट कति सक्छौ तिमीले चाहेको भूगोल

 

धेरै बगाइन् आँसु देखेनौ

सायद तिमी डुब्न सकेनौ उनको

आँखाको गहिराइमा

केही सोचिरहेका

केही बोलिरहेका

हुन्थे उनका आँखा, टोलाइरहेजस्ता

कसैलाई खोजिरहेजस्ता

थाहा पाउन सकेनौ

तिम्रो माया थियो त्यहाँ, देखेनौ

आँधीहुरीपछिको सन्नाटाजस्तै

सुनसान थिइन् उनी

बर्सन बिर्सेको बादलजस्तै थिइन् उनी, डम्म

एउटा पढ्न बाँकी किताबजस्तै

अर्थ्याउन नसकिएको श्लोक थिइन् उनी

सम्बन्धित पोस्टहरु

कविता-  पातहरूको जुलुस

चिनेनौ उनलाई

 

अब सोच्दिनन् तिम्रा बारेमा

किन सोच्नु

आखिर

सबै तिमीलाई दिएर

खाली हात गइन् उनी

मुटुमा आगो बालेर गइन् उनी

तिमीलाई हेर्न नपरोस् भनेर चिम्म गरेर गइन् उनी

तिमीलाई बिर्सेर गइन्

गर्भको पिडा भुलेर गइन्

धेरै पीडामा एउटा पीडा घटाएर गइन्

कोखिलामा च्यापेको, पटुकामा लुकाएको

तिम्रा लागि चर्केको छाती, चहऱ्याउने घाउ

बगेका दूध धारा, तिमीसँगका सबै नाता

पोको पारिन् र लिएर गइन्

तिम्रा लागि नाता छोड्न मानिनन्

छोडिन् त केवल यो भूगोल

जति दिए पनि नपुग्ने भूगोल छोडेर गइन्

अब लिन सक्छौ, सबै

नाप तिम्रै नाममा कति सक्छौ

तर यति बुझ- तिमीलाई पनि अन्त छ, अनन्त छैन

एक दिन तिमी पनि भूगोल छाड्नेछौ।

मजस्तै!

सायद यही भनेर गइन् ती तिम्री आमा।

प्रतिक्रिया
Loading...