हे धर्तीमाता!

तिम्रो गर्भको भ्रूण हुँ म

जे छु तिम्रो गर्भभित्रै छु

सबथोक तिम्रो गर्भमै भेट्छु

म तिम्रो गर्भलाई स्वर्ग सम्झन्छु

तिम्रो गर्भमै मैले संसार देख्छु

जे खोज्छु त्यही पाउँछु

तिम्रो गर्भमै जन्मन्छु

हाँस्छु खेल्छु

बाँच्छु निदाउँछु

र तिम्रो गर्भमै विलीन हुन्छु।

तर तिमी कहिल्यै नमर्नू

तिमी अजम्मरी हौ, अजम्मरी रहनू

तिमी छौ र त म छु, जीवजन्तु छ

हावापानी छ, वनस्पती छ

तिमी छौ र त हिमाल, पहाड

नदीनाला छन्

तिमी छौ र त सागर छ

संसार छ

जे छ तिम्रो गर्भमै छ ।

थाहा छैन !

गर्भबाहिरको संसार कस्तो हुन्छ

खोज्दैछन् विद्वान्‌हरू

भन्छन् नयाँ ग्रह भेट्यो रे

जहाँ मनुष्य बाँच्न सक्छन् रे

तर खोइ कहाँ छ त्यो ?

मलाई थाहा छैन ।

तर मलाई

तिम्रो गर्भमै खुसी लाग्छ

तर तिमी दु:खी भएछौ

रोगी बनेछौ ।

कामजरोले तिमी काम्यौ

हामी भूकम्प ठान्यौँ

तिमीलाई पखाला लागेर आउँदा

हामीले बाढी पहिरो सम्झ्यौँ

विकार वायुले तिम्रो पेट दुख्थ्यो कराउँथ्यो

हामी आकाश गर्जेको ठान्यौँ

तिम्रो पेटमा प्रदूषित धुवाँले

उकुसमुकुस हुँदा

हुस्सु र कालो बादल लागेको ठान्यौँ

पीडाले झरेको तिम्रो आँसुलाई

हामी मुसलधारे वर्षा ठान्यौँ

तर

तिम्रो पीडा कहिल्यै बुझेनौँ

अनि तिम्रो व्यथा महसुस गरेनौँ ।

तिम्रो

कामजरीको कम्पनले

तिम्रो अङ्गहरू भॉचिए

मानव संरचनाहरू भत्किए

तिम्रो जरोको तापले

हिमालहरू पग्लिए

तिम्रो आँसुका भेल बग्दा

कैयौँ भ्रूणहरू बेपत्ता पारिए

कैयौँ धनजन नासिए ।

अनि तिमी !

बर्सौँ थला परेर गलेका

आफ्नो थकित जिउ सुस्ताउन

विस्वव्यापी महाव्याधि फैलायौ

नरप्रति असन्तुष्टि देखायौ

तिमी त अलि शान्तको श्वास फेऱ्यौ

तर हामीले तिम्रो गर्भमै अक्सिजन गुमायौँ

तिम्रो असह्य पीडाको परिणाम

तिम्रो गर्भको भ्रूणहरू विपत्तिमा परे

कैयौँ अकालमै बैतरणी तरे

अति गरे खती भनेझैँ

भ्रूणहरू मरिरहे ।

तब मभित्रको मूर्त चेतना जाग्यो

अब म वन विनाश गरेर

कङ्क्रिट बिछ्याएर

सडक र सहरको विस्तार हैन

कङ्क्रिट हटाएर

रूख उमार्नेछु

म चाहन्छु तिम्रो गर्भभित्र

अब अक्सिजनको कमी नहोस्।