“मलाई साक्षी राखेर खाएको

कसम सबै खत्तम भो”

भन्दै गन्गनिएको सुन्छु

महाकाल बाबालाई

मेरो सपनामा ।

अचेल

पटक्कै विश्वास  गर्दैनन्

राजनीतिक जोकरहरूलाई

महाकाल बाबाले ।

चिहानघारीमा पनि

सञ्चोले निदाउन नपाएका सहिदहरूलाई

धुरुधुरु रुवाएर

गजधम्म बस्ने लुटाहाहरूलाई

तथास्तु भन्नै सक्दिनँ भन्छन्

महाकाल बाबा !

 

“तैँले पनि लेखिनस् भने कसले लेख्छ ?

मेरो ठुस्काइ

मेरो दुखाइ

भन् त ए कवि !

तँ कवि हुनुको घमण्ड पाल्छस् भने

लेख् न

सोझोपनको काँधमा

चुसाइ बुईँ चढेको घटना !

योग्यताको शिरोच्छेदन भएको

अदेख संहार !

लेख् न लेख् ए कवि !

चामलको बोराभित्र निसासिएको

विद्रोहको कथा !

सब्जीहरूसितै कुहिरहेको

विप्लवको व्यथा !

सक्छस् ?”

अचेल

महाकाल बाबा कराउँछन् मेरो सपनामा

र बिपना बेस्सरी रुन्छ मेरो सपनामा

 

हैट ! के हुनु आँट्यो यस्तो !