आपा,
हरेक उँद्यौली र उँभौलीमा,
तिमी चाहन्छौ होला शायद
तीन चुलाको अघिल्तिर बसेर,
मैले नै टोट्ला फिँजाऊँ।
आमाले भरिदिएको सोलोन्वा,
मैले नै लहर मिलाएर राखूँ।
आमाले पस्किएको कोक्चोङ्,
वात्तोङ्हरुले बनाएको मुकुमसिरी,
मेरै हातबाट तिमीलाई दिऊँ।
मुन्दुमी लयमा तिमीलाई सोधीसोधी,
मैले नै यारी हानुँ।

पटक-पटक तिमी मेरो सपनामा आएपछि,
सोधेथेँ आमालाई
तिमी पुजिन चाहन्छौ रे,
आफ्नै सन्तानको हातबाट।
यस्तै अनुमान गरिन् आमाले।

तर खै,
आज वर्षौँ भइसक्यो,
आमाले तीन चुलाको टीका लाइदिएर बिदा गरेको।
वाचा त थियो,
आउँदो उँभौलीमा फर्किने।
त्यसपछि थुप्रै बिते,
उँभौली र उँद्यौलीहरु।
यतै कतै
कहिले बाफिलो बालुवाको समुद्रमा,
त कहिले सेताम्ये हिउँको जंगलमा।

राखिदिएर मेरो साया,
तिमीलाई पुजिरहेछन् नाक्छोङ् काकाले।
यारी हान्दा सधैँ तिमी
रिसाउँछौ रे,
घुर्क्याउँछौ रे,
मान खोज्छौ रे,
मेरो खोजी गरिरहन्छौ रे !

आपा
त्यो बेला मलाई पनि लाग्थ्यो नि
तिम्रो औँला समातेर गाउँ डुलूँ
तिम्रो काँध चढेर गोठालो जाऊँ
तिम्रो काखमा बसेर स्कुलका कुरा सुनाऊँ
तिम्रो ओँठको केही थान दार्‍ही जुँगासँग खेलूँ
आमाले पिट्दा तिम्रो काँधमा छाँद हालेर रोऊँ।

तर यी सब व्यर्थ थिए
तिमी त बेखबर थियो,
फकिर भएर डुलिहिँड्थ्यौ।
खेतबारी बेचेर नि नपुगेर,
मेरी आमाको नाक-कान बुच्चै बनायौ,
तिम्रो जिन्दगी खै कस्तो थियो आपा?
जिन्दगी नै जुवाको खाल बनायौ
र थाहा छ?
म तिमीले हारेको दाउ तिर्न
मरुभूमिमा जिन्दगीको जुवा खेल्दैछु।

शब्दार्थहरु :
आपा : बुबा
टोट्ला : किरातहरुको पितृकार्य गर्दा प्रयोग गरिने केराको टुप्पो नकाटिएको पात
सोलोन्वा : पितृकार्यका लागि चोखो गरी बनाइएको जाँड अथवा मर्चा र पानी मिसाएर भरिएको चिन्डो
कोक्चोङ् : पितृकार्यका लागि पकाइएको विशेष भात
मुकुम्सिरी : मसिनो गरी काटिएको अदुवा र भिजाइएको चामल मिसाएको चिज, जसलाई पितृकार्यमा प्रसादका रुपमा प्रयोग गरिन्छ।
वात्तोङ् : दाजुभाइ
यारी हान्नु : मुन्दुमी मान्यताअनुसार भूत, वर्तमान र भविष्यकाबारे बताउन अदुवाको कछुर हान्ने विधि
साया : शीर उठाउनी
नाक्छोङ् : साकेन्वा/साकेलाको पुजारी

हतुवागढी – २ लुङ्गिन, भोजपुर
हालः दक्षिण कोरिया