आफैँले हालेको भोटको थुप्रोमा
निसास्सिएर
मर्ने बेला भइसक्यो
अर्को चुनावसम्म बाँचिन्छ होला र?
नीलो मसीले लत्पतिएको नङले
अझै प्रश्न गर्दैछ
विकासको रङ कस्तो हुन्छ?
भोक कुन-कुन रङ मिसिएर बन्छ?
समृद्धिको इतिहास कुन मसीले लेखिन्छ?
भ्रष्टचारको रङ र कुर्चीको रङ
किन उस्तै हुन्छ?
हेत्तेरिका!
स्वस्तिक चिह्नको गोलोजस्तै
शून्य जिन्दगी बोकेर
उत्तर आउने बेलासम्म बाँचिन्छ होला र ?
प्रजातन्त्र हुर्केको पनि यत्रा वर्ष भो
तर अझै जुङ्गाको रेखी बस्दैन नाकमुनि
अझै डन्डिफोर आउँदैन अनुहारमा
कपाल फुलिसक्यो
अझै बैँस आउँदैन आँखाहरुमा
बाकसमा खसाल्दा-खसाल्दै विश्वासको मत
अविश्वासको अङ्कुर कतिबेला टुसाउने हो?
भन न साइँलादाइ
कुन चाहिँ भोटले
मुस्कुराउँछ बैंशालु प्रजातन्त्र ?
बाँचिएला र प्रजातन्त्र फक्रिने बेलासम्म?
हेत्तेरिका !
किन प्रश्नमाथि उक्लिइरहन्छ अर्को प्रश्न र बर्बराइरहन्छ गर्भिणी समय?
आफैँले हालेको भोटको थुप्रोमा
निसास्सिएर
मर्ने बेला भइसक्यो
अर्को चुनावसम्म बाँचिन्छ होला र?
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।