कवि सौरभ कार्की कविता सुनाउँदा सुनाउँदै पक्राउ परेका छन् । प्रहरीले पक्राउ गरिसकेपछि पनि कविता सुनाइरहेका कार्कीलाई प्रहरीले जुरुक्क बोकेर गाडीमा हाली मालीगाउँ प्रहरी वृत्तको हिरासतमा लागेको हो । त्यसक्रममा उनले कविता पुरा पढ्न समेत पाएनन्।

उनले प्रहरीकाे पञ्जाभित्रैबाट “म निसास्सिइरहेकाे छु” शीर्षककाे कविता सुनाएका थिए ।

चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेपलगायतका विषयमा असहमती राख्दै विरोधमा उत्रिएका एक दर्जनभन्दा बढी नागरिक अगुवालाई प्रहरीले धरपकड गरेर शुक्रबार गिरफ्तार गरेको हो । पक्राउ पर्नेहरूमा  खगेन्द्र सङ्ग्राैला, अर्चना थापा, नारायण वाग्ले, सन्जीव उप्रेती, युग पाठक, सरिता परियार, भास्कर गौतम, रिता परियार, साैरभ कार्कीलगायत डेढ दर्जन नागरिक प्रदर्शनकारी छन्।

प्रस्तुत छ, कार्कीको कविता;

म निसास्सिइरहेको छु

साैरभ कार्की 

तिम्रो हातमा छ लाठी ।

कम्मरमा छ बन्दुक ।

खुट्टामा छ बुटजुत्ता ।

त्यही जुत्ताको तलुवामुनि

सदियौँदेखि कुल्चिएका छौ तिमीले –

मेरो अस्तित्व ।

लाठी तिम्रै,

बन्दुक तिम्रै,

हतकडी तिम्रै,

न्यायालय तिम्रो,

सत्ता पनि तिम्रै,

म त केवल एक भोट न हुँ ।

म त केवल एक सास न हुँ ।

मलाई थाहा छ

मेरो सास जत्तिखेरै जान सक्छ ।

म कतै झडपहरूमा मारिन सक्छु ।

ग्याङलिडर बताइन सक्छु ।

वा ड्रगडिलर ।

वा कुनै आतंककारी ।

म, जत्तिबेलै मारिन सक्छु ।

मेरो सास – तिम्रो लागि – मात्र एक गोली न हो ।

धन्न हावाको रङ हुँदैन र मात्रै,

नत्र त तिमीले

मेरो सासको रङ पनि कालै देख्थ्यौ होला ।

हेर त : कालै छ – सडकको रङ पनि ।

र अहिले त्यो सडकभरि छन् कालै खुट्टाहरू ।

उचालिरहेछन् आफ्ना कालै मुट्ठीहरू ।

इन्कलाव – जिन्दावाद ।