ती प्रेम गाथा मनमा उनेर ।
प्रसन्न बन्दैछु कथा सुनेर।।
खुलेर आयो किन अश्रुधारा।
जसै हराए मनका सितारा ।।
म प्रेमको निम्ति सफाइ पाऊँ ।
भविष्यकै स्वप्न रची निदाऊँ ।।
 सधैँ उनैको छविमा रमाऊँ ।
ती अप्सराको कविता बनाऊँ ।।
देख्दैछु छाया मुटुमा रहेको
लेख्दैछु माया मनमा भएको ।
अत्तालिँदै लौ न कता म जाऊँ
कि उर्वशीको महिमा सुनाऊ!!
लिएर तिम्रो मनभित्र चित्र
माया सजाऊँ कुन ठाउँ भित्र।
म देख्छु तिम्रो जब मन्द हाँसो
त्यै बन्छ मेरो मुटुभित्र पासो ।।
नाता उनैका सँगमा म जोडूँ
लाएर माया सब थोक छोडूँ।
सर्वोच्चको उच्च उचाइ भेटूँ
उनै प्रियाको महिमा म लेखूँ।।
दिन्छ्यौ भने निर्मल दिव्य माया
बन्नू तिमी घाम म बन्छु छाया।
म भाग्य दिन्छु अनि हात दिन्छु
माग्छ्यौ भने यो प्रिय काख दिन्छु ।।
लौ जून तारा पनि झारिदिन्छु
प्रसन्न तिम्रो मन पारिदिन्छु ।
जन्ती सँगैमा पनि आइदिन्छु
सौभाग्यको सिन्दुर लाइदिन्छु ।।
 विश्वास तिम्रै तब गर्छु साथी !
खोल्छ्यौ भने गुप्त रहस्य बाँकी।
जाग्नेछु तारासित राति राति
कि फूल बन्नेछु म कोटि कोटि।
जान्नन् प्रिया को गरिमा कसैले
को भन्छ साथी महिमा क्रमैले।
उनै परीको कविता म लेख्छु
के भो, उनैमा सब थोक देख्छु।।
लेखेर यी शब्द सबै सकाऊँ
मभित्रका ग्रन्थि सबै फुकाऊँ।
सम्झेर तिम्रो छविमात्र गाऊँ
लेखेर तिम्रो कविता सुनाऊँ।।
लेख्दैछु प्यारी अब प्रेम गाथा
रच्दैछु प्यारी! कमनीय भाका।
लालित्य खोज्दै मनमा म पस्छु
दिन्छ्यौ भने लौ कविता म रच्छु।।
यी पङ्क्तिमा त्यो अनुहार देख्छु
भाका सँगाल्दै कविता म लेख्छु।
बेकार लाग्छन् उपदेश अर्ती
बन्दैन तिम्रो जब पूर्ण मूर्ति ।।
उद्दीप्त तिम्रो अनुहार देखी
स्वर्गीय आनन्द र शान्ति भेटी।
म प्रेमको सागरझैँ भँएछु
पवित्र गङ्गाजलझैँ बँहेछु।।
क्या दिव्य तिम्रो हँसिलो मुहार
राखौँ कि छातीभरिझैँ जुहार।
हेर्दैछु प्यारी मनमा भएकी
हे उर्वशी! लौन कता गएकी?।।
गर्नेछु तिम्रा सपना म पूर्ण
इच्छा रहन्नन् मनमा अपूर्ण।
यो प्रेमको उच्च हिमालमाथि।।
शङ्कालु प्रेमी म त हुन्न साथी
देखेर आँखाभरि ती उमङ्ग
म भावमा डुब्छु भई तरङ्ग ।
देख्दैछु प्रेमामृतमा परेकी
कि स्वर्ग देखी भवमा झरेकी ।।
मुस्कान देखी मन यो भुलेको
मिठास त्यै यो कृतिमा खुलेको ।
शङ्का छदैछैन भनेर  ठान्नू
छ स्वच्छ यो प्रेम भनेर जान्नू।।
                        छन्द – उपजाति