
सुरेश जोशी
जुका
पुस्तौदेखिको निरन्तर
संवेदनाहीन टोकाइले
अचेत भएको म
भावशून्य भएको छु
जुका प्रकृतिका
द्रव्य पिचासका अगाडि
कसाईको बाख्राजस्तो
दिन फेरिएलान् भन्ने आसमा
टोकाइ सहेरै जुग बित्यो “बा” को
र मेरो
हाम्रा चीत्कारयुक्त
बिरक्त रोदनले
किञ्चित द्रवित नभएकाहरू
फरक पारेको छैन केही
नित्यकर्ममा लिन उनीहरूलाई
चुसी रहेछन् अनवरत
रङ्ग फेरि फेरि
कालो गए खैरो
खैरो गए कालो
पालो लाई-लाई
आखिर जुका न परे
प्रकृति नै खुन चुसुवा
********* *******
के तिमी, तिमी नै हौ त ?
काल कोठरीका चिसा रातसँग
जवानी साट्न उद्यत
गोल घर र
सुन्दरीजल जेल चहारी
इन्कलाबको नारा घन्काउँदै
जनताको
जनताद्वारा
जनताकै लागि
फाँसी लगाउनसमेत तम्सिने तिमी
तिम्रै शासन कुशासन भएको बेला
कुशासनको गर्तबाट देखिएको
भ्रष्टाचारको आहाल
न्यायको हत्या
अन्धकारमय भविष्यले
दिग्भ्रमित पारेको छ मलाई
कस्तो बेमेल
तिम्रो अतीत र वर्तमानमा
सुनौलो इतिहास
दागी भविष्यका बीच
धुमलिएको वर्तमान हेरिरहेको म
सोचमग्न भएको छु
के तिमी
तिमी नै हौ त ?
सैबु,ललितपुर



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

तुरुन्त Scan गर्नुहोला
