कवि विमलेश त्रिपाठीको परिचय
कवि विमलेश त्रिपाठीको जन्म भारतको बिहारस्थित बक्सरको हरनाथपुर गाउँमा सन् १९७७ मा भएको हो । गाउँमै प्रारम्भिक शिक्षा लिएका उनले प्रेसिडेन्सी कलेजबाट स्नातकोत्तर र बीएड उत्तीर्ण गरेका छन् भने कलकत्ता विश्वविद्यालयबाट केदारनाथ सिंहका कवितामा विद्यावारिधि गरेका छन् । देशका लगभग सबै पत्रपत्रिकामा कविता, कथा, समीक्षा, लेख आदि प्रकाशन भइसकेका त्रिपाठीका ‘हम बचे रहेंगे’ कविता सङ्ग्रह, नयी किताब, दिल्ली, ‘एक देश और मरे हुए लोग’, कविता सङ्ग्रह, बोधि प्रकाशन, ‘उजली मुस्कुराहटों के बीच’, (प्रेम कविताहरू) ज्योतिपर्व प्रकाशन, ‘कन्धे पर कविता’, कविता सङ्ग्रह, वाणी प्रकाशन (दैनिक जागरण बेस्ट सेलर सूची, २०१८ मा तेस्रो क्रममा समावेश), ‘अधूरे अंत की शुरूआत’, कहानी सङ्ग्रह, भारतीय ज्ञानपीठ, ‘कैनवास पर प्रेम’, उपन्यास, भारतीय ज्ञानपीठ, ‘हमन हैं इश्क मस्ताना’, उपन्यास, हिन्द युग्म, ‘आमरा बेचे थाकबो’ (कविताहरूको बङ्गाली अनुवाद), छोंआ प्रकाशन, कोलकाता, ‘वी विल विद्स्टैंड’ (कविताहरूको अङ्ग्रेजी अनुवाद), अथर प्रेस, दिल्ली, ‘यह मेरा दूसरा जन्म है’ (कविता सङ्ग्रह), ‘केदारनाथ सिंहः लोक संस्कृति और आधुनिकता का द्वन्द्व’, आलोचना, आनंद प्रकाशन, कोलकाताबाट प्रकाशित छन् । उनले भारतीय ज्ञानपीठको नवलेखन पुरस्कार, ठाकुर पूरण सिंह स्मृति सूत्र सम्मान, भारतीय भाषा परिषद युवा पुरस्कार, राजीव गांधी एक्सिलेंट अवार्ड आदि सम्मान तथा पुरस्कार प्राप्त गरेका छन् । परमाणु ऊर्जा विभागमा कार्यरत त्रिपाठी हाल विधान नगर, कोलकातामा बस्दै आएका छन् । उनको एक उपन्यास र कविता चिनको एउटा विश्वविद्यालयले आफ्नो पाठ्यक्रममा समेत समावेश गरेको छ । सामान्य विषयमा गम्भीर कविता लेख्ने त्रिपाठीका केही कविताहरूको नेपाली अनुवाद यस पटकको भाषान्तर कवितामा प्रस्तुत गरिएको छ ।
१. कठिन समयमा प्रेम
(कठिन समय में प्रेम)
विमलेश त्रिपाठी
एउटा कठिन समयमा मैले भनेको थिएँ
उनका कानमा
केही आर्द्र-लजालु शब्दहरू
उनका आँखामा ओइलाएका राजवृक्षको गन्ध थियो
उनी सुक्सुकाउँदै थिइन् मेरो काँधमा
थर्थराइरहे जस्तो आवाजमा
भनेकी थिइन् निकै मसिनो स्वरमा-
यो धरती मेरी सँगिनी हो
र धरती रातभरि देखिरहन्छिन् डरलाग्दा सपनाहरू
कयौँ फूल मेरो आँगनका, निस्सासिएर मरेका छन्
शून्यता पसारिइरहन्छ धुँवा जसरी मेरो चारैतिर
मौन थिइन् उनी
भाषा रित्तिएको थियो शब्दहरूले
एउटा यस्तो क्षण थियो त्यो हामीबिच
जो उसको निद्रामा खुल्थ्यो
र फैलिजान्थ्यो चारैतिर कुहिरो जसरी
हामी बित्दै जान्थ्यौँ दिनसँगै
बढ्दै जान्थे हाम्रा अनुहारका रेखाहरू
फेरि एक दिन
फिर्ता गरेकी थिइन् उनले
आर्द्र ती मेरा शब्दहरू
जस्ताको तस्तै
हिँड्दाहिँडदै उनका आँखाको व्याकरणमा
चम्केका थिए केही धर्साहरू
सायद भन्नु थियो उनलाई
सुन, म धरती हुँ असङ्ख्य भारीहरूले थिचिएकी
सायद यही भन्नु थियो उनलाई
त्यो हाम्रो अन्तिम भेट थियो ।
◆◆◆
२. एउटा देश र मरेका मानिसहरू- १
(एक देश और मरे हुए लोग- १)
विमलेश त्रिपाठी
घरमा छ एउटा मरेको मान्छे
एउटा छ सडकमा
र एउटा दौडन्छ जथाभावी केही खोज्दै
एउटा मृतक घोषणा गर्छ लालकिलाबाट-
स्वतन्त्र छौँ हामी
केही मरेका मान्छेहरू पिट्छन् ताली
केही मिलेर मनाउँछन् उत्सव
यो त अति भयो-
जब एउटा मृत मान्छे पुग्यो संसदमा
र एउटा अर्को मृत मान्छेमाथि गर्यो आक्रमण जुत्ताले
एउटा मरेको मान्छेले कैयौँ मरेकाहरूबारे
लेख्यो एउटा कविता
र अर्को एउटा मरेको मान्छेले दियो उसलाई पुरस्कार
एउटा देश छ जहाँ मरेका मान्छेहरू शासन गर्छन् मरेकै मान्छेहरूमाथि
जहाँ हरेक दिन मृत्यु हुन्छ हजारौँ हजार मान्छेहरूको
लौ न मलाई कसैले निकाल त्यो देशबाट
कसैले त बचाओ मलाई मर्नबाट !
◆◆◆
३. अर्थ-विस्तार
विमलेश त्रिपाठी
हामीले प्रेम गरिरहेका बेला
यस्तो किमार्थ हुँदैन
कि संसारै परिवर्तन होस्
मात्रै यति-
हामीलाई जन्म दिने आमाको
अनुहारको हाँसो परिवर्तन हुन्छ
हामी जन्मेदेखि नै
बुबाको मनमा लुकेर बसेका
सपना परिवर्तन हुन्छन्
र
परिवर्तन हुन्छ
बिहान बेलुका घरमा गुन्जिने
मन्त्रहरूको अर्थ ।
◆◆◆
४. त्यसै गरी आउने छु
(वैसे ही आऊँगा)
विमलेश त्रिपाठी
मन्दिरका घन्टीहरूको आवाजका साथ
रातको चौथो पहर
जसरी आउँछ चेतना पक्षीहरूको निद्रामा
हराएर
कुनै समयको भुँमरीमा
बिर्सिएको कुनै साथीका
अदृश्य दुई हातहरू
जसरी सहारा बनेर आउँछन् पराजित क्षणहरूमा
हरेक रात सपनामा
जब भत्किन्छ मृत्युको एउटा मिथक
र पत्नीका कलेटी परेका ओठहरूबाट छानिएर
जसरी जीवनमा फेरि जीवन आउँछ
हरेक बिहान
उदास दिनका
कैयौँ भोका क्षणहरूपश्चात
भान्सामा भाँडा बजेको ध्वनिसँगै
जब आँतका घाटीहरूमा
आउँछ अन्नको सुगन्धित बाफ
जसरी लामो प्रतीक्षापछि
सुरक्षित घर पुर्याइदिने
मधुर सङ्गीत लिएर
प्लेटफममा आउँछ प्यासेन्जर ट्रेन
त्यसै गरी आउने छु म ।
◆◆◆
५. पत्नी
विमलेश त्रिपाठी
भाँडा माझ्छिन् उनी
मानौँ स्मृतिको धमिलो सफा गर्छिन्
पखाल्छिन् अतीत
जसरी निकाल्छिन् मयल कट्कटिएका घरभरिका लुगाहरूको
हिँड्छिन् उनी जसरी डुल्छ हावा
बल्छिन् जसरी अँगेनामा सल्कन्छ दियालो
पर्खिन्छिन् आफ्नो भागको आकाशमा अपलक नियाल्दै
जसरी बाटो हेर्छन् खेतहरू मनसुनको पहिलो वर्षाको
हाँस्छिन् मानौँ हाँस्छ कुनै पीडित
रुन्छिन् बेसुरको भदौको आकाश झैँ
सम्झिन्छिन् बाल्यकालको एउटा तस्बिर
जहाँ स्थिर थियो एउटा हाँसो स्मृतिमा
उनका सपना, अबोध इच्छाहरू र अनिश्चित भविष्य
बन्द छन् माइतीले दिएको टिनको कन्तुरमा
नित्य साँझ, बिहान, थकित दिन
र उजाड रातहरूको चकमन्नतामा
छुटिगए आफन्ती अनुहारहरूको आवतजावत
छुटेर गए दृश्यहरूमा एकाकी समयका पर्दाहरू
पहिलो प्रेमपत्रका निर्दोष कुमारी शब्दहरूमा
झरिरहेछ निरन्तर धुलो मैलो
रात लामा छन् दिन पहाड
सबै अनुहार अन्धकार ओडार झैँ
अपरिचित छन् भयानक
सहन्छिन् उनी
सहनशील पृथ्वी जस्तै अनन्तदेखि
रहन्छिन् उनी
शताब्दी, समय र शब्दभन्दा बाहिर कतै
मात्र आफ्नै व्यक्तिगत एकान्तमा
शताब्दियौँसम्म मान्छेभन्दा अलग्गै
जसरी रहने गर्छ एउटा भिन्न प्रजाति… ।
◆◆◆
६. चुरोट र प्रेम
(सिगरेट और प्यार)
विमलेश त्रिपाठी
दुवैले
मारिदिन्छन् बिस्तारै बिस्तारै
तैपनि
लागेको छ लत
छुट्दै छुट्दैन
र एउटा बिन्दुमा
जानी जानी
मृत्यु रोज्छौँ हामी
र हामीलाई लाग्दैन दुख… ।
◆◆◆
७. अँध्यारोमा एक आवाज
(अँधेरे में एक आवाज)
विमलेश त्रिपाठी
अँध्यारोमा एउटा आवाज छ
अँध्यारोलाई
निरन्तर चिरिरहेको
अँध्यारोमा तिमी छ्यौ
अँध्यारोसँग जुधिरहेकी
तिम्रो हुनुलाई
झक्झक्याउँदै बारम्बार
म पनि छु अँध्यारोमा
हामी सबै छौँ
अँध्यारोमा
र अँध्यारोमा
छ अँध्यारो
एउटा आवाजसहित ।
◆◆◆
८. एक्लो मानिस
(अकेला आदमी)
विमलेश त्रिपाठी
उसको एक्लोपनमा कैयौँ एक्ला संसारहरू फेर्छन् सास
तिनै एक्ला संसारहरूका कारण
ऊ रहँदैन नितान्त एक्लो
एक्लो मानिससँग हिँडिरहेका
कैयौँ एक्ला स्मृतिहरू हुन्छन्
कतै छुटेका कुनै रागहरूको
एउटा हलुको कम्पन जसरी
टुटेफुटेको एउटा खेलौना हुन्छ
केही कमजोर बिहान केही पहेँलिएका उदास दिन
केही धुलो पोतिएका साँझहरू
कष्टपूर्वक बिताइएका केही रात
इत्यादि… इत्यादि…
देखिन्छन् हरेक पल उसको अनुहारमा प्रकट भएका
मानौँ ऊ हिँड्नुमा आफू हिँड्नुको विशेषता
प्रमाणित गर्दै स्पष्ट प्रतिबिम्बित हुन सक्छ
तर बिरलै हामी यो सोच्न सक्छौँ-
एक्लो मानिस जब नितान्त एक्लो हुन्छ
ऊ हाम्रो दृष्टिमा मात्र एक्लो हुन्छ
वास्तवमा त्यति बेला ऊ कुनै अदृश्य आत्मीयसँग
लिइरहेको हुन्छ कुनै गम्भीर सल्लाह
कुनै महत्त्वपूर्ण विषयमा
त्यति बेला तपाईँ उसको ‘हो’ र ‘होइन’लाई
स्पष्ट सुन्न सक्नुहुन्छ चाहेको खण्डमा
एक्लो मानिसका औँलाका चेपहरूमा
आशा र निराशाका कैयौँ अनौठा दृश्यहरू अड्किएका हुन्छन्
कुनै जादुगर जसरी एकै समयमा
रुन र हाँस्न सक्षम हुन्छ एक्लो मानिस
एक्लो मानिस देखिन्छ जब नितान्त एक्लो
खासमा त्यति बेला ऊ एक्लोपनको विशेषणलाई
सामूहिक क्रियामा परिवर्तन गरिरहेको हुन्छ
र यो काम ऊ यति एक्लोपनमा गर्छ कि
हाम्रो चिन्तनको एकान्तमा समावेश नै हुन सक्दैन
र
सहिरहन्छ ऊ कुनै विरक्त योगी जसरी
हाम्रा हातबाट चिप्लिँदै गइरहेको समयको दंश
मात्र आफ्नो छातीमा एक्लै
र हाम्रो पहुँचभन्दा धेरै पर
एक्लो मानिस किमार्थ हुँदैन सहानुभूतिको पात्र
जस्तो कि हामी प्रायः सोच्ने गर्छौँ
यो हाम्रो सोचको एउटा अपरिचित सीमा हो
हामी बुझ्दैनौँ
एक्लो मानिस जब वास्तवमै एक्लो हुन्छ
त्यस बेला ऊ गनिरहेको हुन्छ
पृथ्वीका असङ्ख्य घाउहरू
र तिनको विरेचनका लागि
कुनै अभूतपूर्व लेप बनाइरहेको हुन्छ ।
◆◆◆
९. आगो सभ्यता चिया और नारीहरू
(आग सभ्यता चाय और स्त्रियाँ)
विमलेश त्रिपाठी
सताब्दिऔँ अघि जब आगोका बारेमा
केही थाहा थिएन मानिसलाई
त्यस बेला चियाका बारेमा पनि
केही जानकारी थिएन तिनलाई
नारीहरू जान्दैनथे
चियाका पातहरू टिप्न
र आँसुका मौन घुट्का
घुटुघुटु निल्न पनि
राम्ररी जान्दैनथे तिनीहरू
फेरि केही दिन बिते
र आगोको खोजी गर्यो कुनै मानिसले
र यसै गरी सभ्यताको कुनै चौबाटोमा
धेरै थोक पिउनुका साथसाथै
उसलाई चिया पिउने इच्छा भयो
त्यस बेलासम्म आगोसँग
घनिष्ठ नाता गाँसिइसकेको थियो नारीहरूको
र सिकिसकेका थिए तिनले
आफ्ना कोमल हातहरूले पातहरू टिप्न
सिकिसकेका थिए त्यति बेलासम्म
नारीहरूले
ढोकाको आडमा
चियाको सुर्कोसँगै
थोपा थोपा नुनिला
र ताता आँसुका ढिका चुपचाप पिउँदै गर्न ।
◆◆◆
१०. हाँसिरहेका आइमाई
(हँसती हुई औरतें)
विमलेश त्रिपाठी
हाँसिरहेका आइमाई राम्रा लाग्छन्
राम्रा लाग्छन् पहेँला दाँतहरू
खुम्चेका सुतीका साडीहरू
र खुकुलो बाहुला भएका कुर्ताहरू राम्रा लाग्छन्
सुन्दर देखिन्छन् हाँसिरहेका आइमाई
जब हाँस्छन् ती-
रोकिएर पृथ्वीसमेत आफ्नो अक्षमा केही बेर
नियाल्छिन् तिनलाई
निहुरिएर सलाम गर्छ आकाश
हे संसारभरिका सारा आइमाईहरू !
यसै गरी हाँस तिमीहरू
तिमीले हाँस्दा सभ्यताको कालो अँध्यारो
बिस्तारै बिस्तारै पग्लिन्छ ।
◆◆◆
११. जब हुने छैन ऊ
(जब वह नहीं रहेगा)
विमलेश त्रिपाठी
र अचानक एक दिन ऊ रहने छैन
ऊ परिणत हुने छ एउटा लामो स्मृति कथामा
हामी देख्न पाउने छैनौँ उसलाई
तर हामीलाई हेर्दै ऊ मन्द मन्द मुस्कुराइरहने छ
हामी कुनै पुरानो सन्दुसमा,
उसको अस्तित्वको गन्ध खोज्दै
दुखको कुनै दुःस्वप्तलोकमा जाने छौँ
एउटा पुरानो डायरीको पाना
फर्फराउँदै कुनै कुनामा केही भन्न खोज्ने छ
हामी अचानक बन्द गरिदिने छौ त्यसलाई
बिस्तारै बिस्तारै लम्पसार पर्दै जाने छ
सम्पूर्ण घरभरि उदासीको एक पत्र
एकअर्कालाई हेर्दै अपरिचित जसरी
हामी ख्यालख्यालको ढाडस दिने छौँ
साँझको धमिलो केही अझ गम्भीर
रात अझ गाढा
र बिहान लुटिएका मानिसको आत्मा जस्तो हुने छ
यस्तो निरन्तर भइरहने छ धेरै दिनसम्म
फेरि एक दिन एउटा दुधे बालक दिक्दार भएर उठ्ने छ
र समयको ऐनामा जमेको धुलो
पुछिदिने छ आफ्ना साना अपरिपक्व हातहरूले
युगौँपछि एउटा नयाँ दिनको सुरुवात
मलाई विश्वास छ- यसै गरी हुने छ ।
◆◆◆
अनुवाद : निमेष निखिल
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।