सहरका सडकमा
अझै पनि गुड्दैछन्
प्राचीन रथका पाङ्ग्राहरू ।

मान्छेहरू
मङ्गलयानको कथा वाचन गरिरहेको
टि.भि. खुल्लै छाडेर
बार्दलीको आडमा उभिन्छन्,
भिडले तानिरहेको रथ हेर्न ।

रोल्सरोयल कारलाई
ग्यारेजमा ताल्चा मारेर मान्छे
निस्कन्छ सडकमा
र पछ्याउँछ अग्लो काठे रथलाई ।
अग्ला लिङ्गामा घुमिरहेका
झल्लर र तोरणसँगै
नाच्छन् तिनकान्का लरबरिएका खुट्टाहरू ।

फेसबुकबाट हराएको छिमेकीलाई
लठारो तानिरहेको भिडमा देखेपछि
दुवै जना मुसुक्क मुस्काउँछन्
र दुवैलाई ज्ञात हुन्छ
छिमेकी जिउँदै भएको ।

सिकारमा हिँडेको कुनै कबिलाको सदस्यझैँ
मान्छेहरू अबिर पोत्छन् अनुहारमा ।
मखुन्डो भिरेर अपरिचित हुन्छ मान्छे ।
भिडको नशामा
उसैगरी चिच्याउँछन्
जसरी सयौँ वर्षअगाडि उनीहरूका पुर्खाहरू
चिच्याउँथे
होट्से हैँसे ……
हुर्रे ।

भट्याइन्छन् देव र दानवका कथाहरू
विजयगीत,
स्तुति र भजनहरू ।
म्याडोना र ज्याक्सन
ढोल र खैँजडीमा नाच्दै भेटिन्छन् ।

भाला र वाण बोकेका मान्छेका
नाङ्गो तरबारको नृत्यपछि
लातारिइन्छन्
बलि चढाइएका बोका र राँगाहरू ।
भिडहरू झुत्तिन्छन्
अक्षतापाती र प्रसाद टिप्न ।

जसरी सदियौँदेखि
उसैगरी आज पनि
मान्छे र देवता सँगै सहर घुमेपछि
( हुन त मान्छेले नै घोषणा गरेको हो,
देवताको मृत्युको । )
मान्छेहरू फर्कन्छन् घरमा
उही विश्वास लिएर
अझै पनि मरेको रहेनछ
यो आधुनिक सहरको जङ्गलमा
आफैँभित्र
एक थान प्राचीन होमोसेपियन्स ।।