दिपक घिमिरे

यो बास्नादार चोकबाट त्यो रङ्गिन गल्लीसम्म पुग्छु म
यो गन्हाउने चोकबाट त्यो रङ्गहीन गल्लीसम्म पुग्छु म
म धाइरहँदा त्यो गल्लीहरूमा
म पुगिरहँदा त्यो चोकहरूमा
बास्नादार चोकमा नाङ्गोपना झपक्क छ।
गन्हाउने चोकमा भोकोपना लपक्क छ ।
रङ्गीन गल्लीको बगैँचामा फुलेको फूलको रङ प्रत्येक दिन गुपचुपमै लुटिन्छन्
रङ्गहीन गल्लीको बगैँचामा फुलेको फूलको रङ उदाङ्गो भएर कुटिन्छन् ।
यी दुई गल्लीमा थुप्रै रहर क्वाटीझैँ टुसाउँछन्
केही रहरले मलिलो जमिन भेट्छन्
केही रहरले तातो आगाको राप भेट्छन्
पाक्छन् जरुर दुवै
केही फुलेर फलेर
केही अभाव अनि बाध्यतामा जलेर ।।